Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा तरकारीको मूल्य अचाक्ली बढ्यो

हाम्रो कोशी आवाज
साउन १६ २०७७, शुक्रबार
धरानमा तरकारीको मूल्य अचाक्ली बढ्यो

धरानः धरानमा तरकारीको भाउ अचाक्ली बढ्दा पनि सम्बन्धित निकाय देखेपनि नदेखेझैं गरिरहेको छ ।
अहिले सब्जी बजारमा आलु १००, टमाटर ११०, प्याज ४० रूपैयाँ, अन्य हरियो तरकारीजति सबै १०० रुपैयाँ केजीभन्दा तल छैन । टमाटर भारतबाट आउनुपर्ने भएकोले नआएको व्यवसायी बताउँछन् । धरान–९ का सब्जीमण्डीमा व्यवसाय गर्दै आएका सब्जी व्यवसायी अखलेस जैसवालले अहिले कृषि बजारबाटै सामान ल्याउँदा महङ्गो पर्ने बताए । ‘कृषि बजारमै आलुको भाउ ९० रूपैयाँ छ’, उनले भने, ‘यहाँ ल्याएपछि ५ रूपैयाँ बढी परेको हो ।’
व्यापारीले अहिले विभिन्न बहानामा तरकारी तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढाएका छन् तर सम्बन्धित निकाय मौन बसेको धरान–१९ की उपभोक्ता सीता लिम्बू बताउँछिन् । ‘३–४ दिनअघिसम्म ५० रूपैयाँ किलोमा किनेको टमाटर ११० रुपैयाँ भएछ, यो कसरी यस्तो हुन्छ भन्नेबारेमा अनुगमन गर्ने निकाय छैन ?’ उनले प्रश्न गरिन् ।
विचौलियाका कारण तरकारी अस्वाभाविक रूपमा बढ्दा र कालोबजारी हुँदासमेत अनुगमन गर्ने निकाय कानमा तेल हालेर बसेको उपभोक्ताको भनाइ छ । ‘खै अहिलेसम्म धरानको तरकारीमा अनुगमन भयो रे भन्ने समेत सुनेकी छैन, जति दाम छ, त्यति नै हालेर खानुपरिरहेको छ ।’ धरान–९ की गृहिणी सर्मिला श्रेष्ठले भनिन् । व्यापारी तथा विचौलियाले वर्षा र बाढीको बहानामा हरियो तरकारीको मूल्य तेब्बरसम्म बनाउँदा रमिते बन्नु दुःखद भएको उनले बताइन् ।
व्यवसायीले अविरल वर्षा, बाढी–पहिरो जस्ता कारण देखाएपनि उपभोक्ता मान्न तयार छैनन् । व्यवसायीहरूले भने वर्षाकै कारण अहिले भाउ बढेको बताएका छन् । बजारमा तरकारीको भाउ वर्षा शुरू भएपछि हवात्तै बढेको धरानका खुद्रा व्यवसायी शुक्र लिम्बूले बताउँछन् । तराईबाट आउने तरकारी सहजै आउन छोडेको र भारतबाट आउने तरकारी समेत नाका बन्द भएका कारण रोकिएको व्यवसायी बताउँछन् ।
आखिर जे कारणले तरकारीको भाउ बढेपनि बिहान–बेलुका आम सर्वसाधारणको भान्सामा पाक्ने तरकारीको मूल्यवृद्धिले निम्न आय भएका नागरिकहरुको जीवन असहज बनेको छ ।
यस्तै, सबैभन्दा बढी सरकारी नियम पालना नहुने धरान–९ को सब्जीमण्डी र पालिका बजारको सब्जीमण्डी पर्दछ । मानिसको आउजाउ उत्तिकै छ । त्यहाँ व्यवसायीदेखि उपभोक्तासम्मले मास्कसमेत लगाएको पाइँदैन । स्थानीय व्यवसायी विद्यानन्द जैसवाल मास्क नलगाइ आउनेमा व्यवसायी साथै उपभोक्ता पनि रहेको बताउँछन् । ‘व्यवसायी र उपभोक्ताले नै हेलचेक्रयाइँ गर्दा दुःख लाग्छ ।’

मास्क नलगाइ बेचिरहेका व्यवसायी ।

प्रकाशित मिति: साउन १६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend