धरानः धरानमा थप दुईजनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान–१ का २० वर्षीय युवामा संक्रमण पुष्टि भएको हो । उनी धरान–१ धरान उच्च मावि छेऊको रहेको उनले जानकारी दिए । यस्तै, धरान–१५ सदन स्कुल छेऊका एक ४० वर्षीय पुरुषमा पनि संक्रमण भएको उनले जानकारी दिए ।
योसँगै धरानमा हालसम्म २८ जनामा कोरोना संक्रमण भएको पाइएको उनले जानकारी दिए । हाल उनीहरूको अवस्था सामान्य छ । ‘मंगलबार कोरोना संक्रमित युवामा ज्वरो आएपछि उनलाई चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको हो’, उनले भने, ‘हाल उनको अवस्था पनि सामान्य छ, ज्वरो पनि छैन ।’ उनलाई कन्ट्याक ट्रेसिङका आधारमा स्वाब संकलनका क्रममा उनमा कोरोना पुष्टि भएको हो ।
२८ जनामध्ये ९ जना विदेश नगएका व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको उनले जानकारी दिए । पछिल्लो दुई तीनदिन अघि देखिएका संक्रमितचाहिँ यहीका बासिन्दा भएको उनले जानकारी दिए । ‘२८ जनामध्ये ९ जना यहीँ रहेकालाई संक्रमण देखिएको छ’, उनले भने, ‘अन्य सबै विदेशबाट फर्किएका, क्वारेन्टाइनमा बसेका रहेका छन् ।’