ताप्लेजुङः ताप्लेजुङको फुङलिङ नगरपालिका ९ का वडा अध्यक्ष तारा बरालले सञ्चालन गर्दै आएको फुङलिङ बजारस्थित आशिका आयल सप्लायर्सले पेट्रोल र डिजेल बढी मूल्यमा बिक्री गर्दैै उपभोक्ता ठग्दै आएको पाइएको छ ।
नेपाल आयल निगमले गत शनिबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको छ । इण्डियन आयल कपोरेशनबाट प्राप्त खरिद मूल्यमा समेत वृद्धि भएको मूल्य समायोजन गर्न परेको निगमले प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
ताप्लेजुङको सदरमुकाममा अहिलेसम्ममा पाथीभरा आर्यल सप्लायर्स र आशिका आयल सप्लायर्स गरी दुई वटा सप्लायर्सले पेट्रोल र डिजेल खरिद बिक्री गदै आएको छ । गत शनिबारसम्म पाथीभरा आयल सप्लायर्सले पेट्रोल प्रलिटर रु १०८.५० र डिजेल ९७ रुपैयाँमा बिक्री गर्दै आएको थियो भने, आशिका आर्यल सप्लायर्सले प्रति लिटर रु ११५ रुपैयाँ पेट्रोल र डिजेल ९७.५० रुपैंयाँमा बिक्री गर्दै आएको थियो ।
नेपाल आयल निगमले गत शनिबार एक प्रेस विज्ञप्ति मार्फत् २ रुपैयाँ मूल्य वृद्धि गरेसँगै पाथीभरा आयल सप्लायर्सले पेट्रोल रु ११०.५० र डिजेल रु ९७ रुपैयाँमा बिक्री वितरण गर्दै आएको छ । आशिका सप्लायर्सले भने अघिल्लो मूल्य आइतबारसम्म कायम गरेको थियो । पेट्रोल प्रतिलिटर ११५ रुपैयाँ र डिजेल ९७ं.५० रुपैयाँमा बिक्री–वितरण गरिरहेको छ । पाथीभरा आयल सप्लायर्सले भन्दा आशिका आयल सप्लायर्सले गत शनिबारसम्म प्रतिलिटर पेट्रोलमा रु ६.५ रुपैयाँ र डिजेल ०ं.५० रुपैयाँ बढी मूल्यमा बिक्री वितरण गर्दै आएको थियो । आइतबारदेखि प्रतिलिटर पेट्रोलमा ५ रुपैयाँ र डिजेल प्रतिलिटर ०.५० पैंसा बढी मूल्यमा बिक्री वितरण गदै आएको छ ।
एक ट्याङ्कर पेट्रोल डिजेलमा १२ हजार लिटर विराटनगर आयल निगमदेखि ताप्लेजुङको सदरमुकामसम्म पुग्दा ढुवानी, विमा, चालक बोनस र राजश्व गरी एक ट्याङ्कर पेट्रोल वा डिजेल ताप्लेजुङ पुग्दा प्रति लिटर पेट्रोल र डिजेलको मुल्य ७ पर्न आउने पाथीभरा आयल सप्लायर्सका संञ्चालक यादव श्रेष्ठले बताए ।
नेपाल आयल निगमले तोकेको प्रति लिटर मूल्य भन्दा ०.३ प्रतिशत बढी मूल्यमा बिक्री वितरण गर्न पाउने भएपनि आशिका आयल सप्लायर्सले निगमले तोकेका मूल्य भन्दा १३ प्रतिशत बढी मूल्यमा बिक्री वितरण गर्दै आएको छ । ट्याङ्करमा नल्याएर ड्रममा ल्याउँदा केही मूल्य बढी पर्न आउने भएकोले केही मूल्य बढी पर्न आएको आशिका आयल सप्लायर्समा कार्यरत एक व्यक्तिले जानकारी दिए ।
नेपाल आयल निगम पेट्रोलियम पदार्थ बिक्रेता नियमावली २०७५को परिच्छेद ६ अनुसार नेपाल आयल निगमको अनुसूची १० बमोजिम लोगो सहितको होडिङबोर्ड राख्नुपर्ने उल्लेख भएतापनि आशिका आयल सप्लार्यसले अहिलेसम्म होडिङ बोर्ड र मूल्य सूची पनि राखेको छैन ।
रातको समयमा पम्प राखेर तान्ने ड्रम, जार र कोकको बोतलमा भर्ने र विहानदेखि दिउँसोसम्म भरेको पेट्रोल र डिजेल बिक्री नगर्ने गरेको एक टेम्पो चालक कृष्ण लिम्बूले बताए ।
कहिलेकाही पाथीभरा आयल सप्लायर्समा पेट्रोल सकिएको समयमा बढी मूल्य तिरेर टेम्पो चलाउँदा तेलको मूल्य समेत उठाउन नसकेको टेम्पो चालक वीरकुमार लिम्बूले बताए । नेपाल आयल निगम चारआली कार्यालय प्रमुख गोपाल दियालीका अनुसार ताप्लेजुङमा सञ्चालित आयल सप्लायर्स दुई वटामध्ये पाथीभरा आयल सप्लायर्स ‘ख’ वर्गको साधारण बिक्रेता र आशिका आयल सप्लयर्स ‘घ’ वर्गको प्याक्ड बिक्रेता भएको फोनमार्फत् जानकारी दिए ।
प्याक्ड बिक्रेताले डिजेल मात्र बिक्री वितरण गर्न पाउने र पेट्रोल बिक्री वितरण गर्न नपाउने उनले जानकारी दिए । तर प्याक्ड बिक्रेता तथा आशिकाले पेट्रोल खरिद बिक्री गर्दै आएको जानकारी नभएको चारआली कार्यालय प्रमुख दियाले फोनमार्फत् जानकारी दिए ।