धरानः धरानको खानेपानीको मुहान क्षेत्रमा तोडफोडको आरोपमा पक्राउ परेका हर्क साम्पाङलाई प्रहरीले म्याद थप गर्न जिल्ला अदालत लगिएको छ ।
इलाका प्रहरी कार्यालय धरानले उनलाई धरान उपमहानगरपालिका खानेपानी बोर्डको जाहेरीका आधारमा ‘सार्वजनिक सम्पत्तिको तोडफोड र अत्यावश्यक सेवामा अवरूद्ध’ मुद्दामा म्याद थप गर्न लागेको हो ।
डिएसपी ज्ञानेन्द्र बस्नेतले साम्पाङमाथि तोडफोड र अत्यावश्यक सेवामा अवरुद्ध मुद्दामा म्याद थपका लागि जिल्ला अदालत सुनसरी इनरुवा लगिएको जानकारी दिए । ‘मुहान क्षेत्रमा क्षति पुरयाएको भन्दै कारबाहीका लागि बोर्डले मंगलबार बेलुका किटानी जाहेरी दिएपछि पक्राउ गरेर म्याद थपका लागि जिल्ला अदालत लगिएको हो’, डिएसपी बस्नेतले भने ।
धरानमा गएको मेयर पदको उपनिर्वाचनमा साम्पाङ स्वतन्त्र उम्मेदवार थिए । साम्पाङ नेतृत्वको एक समूहले केही दिनअघि खानेपानीको मुहान सर्दु र खर्दुमा गएर धरान खानेपानी आयोजनाको पाइपलाइनमा क्षति पुरयाएका थिए । उनले पाइपलाइन खुस्काएको भनी दावी गर्दै आएका छन् ।
धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा खानेपानीको मुहान तोडफोडको विषयमा जोडदार कुरा उठेको छ । घटनामा दोषीलाई यथाशीघ्र क्षतिपुर्तिसहित कानुनी कारवाही गर्न जोडदार माग गरिएको छ । तोडफोडमा खानेपानी कार्यालयका प्रमुख रामकुमार श्रेष्ठविरुद्ध पनि जाहेरी परिसकेको प्रहरीले जनाएको छ ।