धरानः कोभिड महामारीको जोखिम न्यूनीकरण गर्न गरिएको लकडाउका कारण देशमा सञ्चालित ६१ प्रतिशत उद्योग–व्यवसाय बन्द रहेको एक अध्ययनले देखाएको छ ।
राष्ट्र बैंकले गरेको ‘कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी गरेको सर्वेक्षण प्रतिवेदनले बन्दबन्दीको कारणले ३५ प्रतिशत उद्योग व्यवसाय आशिंक रुपमा र ४ प्रतिशत उद्योगमात्र पूर्ण रुपमा सञ्चालन भएको देखाएको छ ।
बन्दाबन्दीका बेला सर्वेक्षणमा सहभागी उद्योग, व्यवसायहरूमध्ये ९६.७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा औसतमा ७३.८ प्रतिशत उत्पादन कारोबार घटेको सर्वेक्षणले देखाएको छ ।
कोरोाना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न गरिएको लकडाउनका कारण करिब एक चौथाई कामदारले रोजगारी गुमाएकाछन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धि सर्वेक्षण प्रतिवेदनअनुसार देशका उद्योग व्यवसायले करिब २२.५ प्रतिशत कामदार कटौती गरेको देखिएको हो ।
बैंकले ५२ जिल्लाका ६७४ उद्योगी व्यवसायीसँग गरेको सर्वेक्षणका आधारमा निकालिएको निष्कर्षअनुसार होटल र रेस्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी कटौति गरेका छन् । त्यस्तै, रोजगारी गुमाउनेमध्ये करिब दुई तिहाई अस्थायी र करारका कर्मचारी र कामदार छन् ।
लकडाउनको अवधिमा औसतमा १८.२ प्रतिशत उद्योग व्यवसायले कामदार तथा कर्मचारीको तलब कटौती गरेको अध्ययनले देखाएको छ ।