ताप्लेजुङः ताप्लेजुङ जिल्लाबाट लामो दुरीमा चल्ने यातायातका चालकले जिल्ला प्रशानबाट पास निकाल्दै तोकिएको भन्दा बढी भाडा यात्रुबाट असुल्दै यात्रु ठग्दै आएका छन् । लकडाउन गत साउन ७ गते बेलुकाको १२ बजेदेखि खुले पनि लामो दुरीको यातायात काउण्टर खुलाएर यातायात संञ्चालन गर्ने गरी सरकारले निर्णय गरेको छैन ।
आवश्यक परे जिल्ला प्रशासन कार्यालयबाट पास लिएर एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्ने पाउने नेपाल सरकारको निर्णय छ ।
तर ताप्लेजुङबाट लामो दुरीका सवारी चालकहरुले जिल्ला प्रशासन कार्यालयबाट पास बनाउँदै विभिन्न बहाना बनाउँदै कमाउधन्दामा लागेको २६६३ गाडी नम्बरका यात्रु देवानसिं मादेनले बताए । मादेन गत साउन १९ गते ताप्लेजुङबाट धरान लागि रु ३ हजार तिरेर धरान पुगेका थिए ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट १८ गते ५ जना यात्रुको लागि पास लिएको थियो । तर १९ गते बिहान ८ जना यात्रु लिएर धरान पुगेको उनले बताए । ताप्लेजुङदेखि धरानसम्मको भाडा १ हजार हो । गत असार २६ गतेको निर्णयअनुसार ५० प्रतिशत बढाए पनि १ हजार ५ सय हो । तर प्रति व्यक्ति रु ३ हजारको दरले भाडा लिएको यात्रु मादेनले बताए ।
गत साउन २१ गते ताप्लेजुङबाट काठमाण्डांै पुग्दा भ्यान गाडीले ४ यात्रुको रु १० हजारको दरले रु ४० हजार तिरेर २२ गते काठमाण्डांै पुगेको यात्रु रेष्मा लिम्बूले फोनमार्फत् जानकारी दिइन् ।
तर २३ साउन स्थानीय रुटमा चल्ने गाडी ताप्लेजुङ देखि तेलोकसम्मको भाडा रु ५ सय भए पनि ९ सय लिएको यात्रु कविता लिम्बूले फोनमार्फत् जानकारी दिइन् । यी व्यक्ति एक प्रतिनिधी मात्र हुन् ।
अहिले दैनिक ताप्लेजुङबाट बिर्तामोडको गाडी चलिरहेको छ । ताप्लेजुङबाट बिर्तामोडको भाडा रु ८ सय हो । तर अहिले रु २ हजारदेखि ३ हजार भाडा लिँदै आएको पाइएको छ । पास निकाल्नुपर्ने भएकोले तोकिएको भन्दा बढी भाडा लिएको चालक बिष्णु बस्नेतले जानकारी दिए ।
पास निकाल्न पर्ने भएको र धेरै यात्रु बोक्न नपाउँने भएकोले केही बढी भाडा लिएको सवारी चालक मेघराज रिजालले जानकारी दिए । नेपाल सरकारले यातायात काउन्टर खोल्ने निर्णय नगरेकोले चालक तथा सीमित व्यक्तिहरुले पास निकाल्दै यात्रुसँग आफूखुशी भाडा उठाउँदै आएको ताप्लेजुङ यातायात व्यावसायी संघका सदस्य सरण लाबुङले जानकारी दिए । संघका सदस्य लाबुङले भने ‘काउन्टर बन्द छ, चालकले कसरी यात्रु असारपसार गर्छन्, यातायात व्यावसायी संघले थाहा हुँदैन ।’
दैनिकरुपमा ५ देखि ७ वटा पास लिने गरेको जिल्ला प्रशासन कार्यालयका कार्यालय प्रमुख डोेरेन्द्र निरौंलाले जानकारी दिए । तोकिएको भन्दा बढी यात्रु र भाडा बढी लिने सवारी चालकलाई कारवाही गर्ने निरौलाले जानकारी दिए ।
सरकारले गत असार २६ गतेदेखि नै सुरक्षा विधि अपनाएर दुईजनाको सिटमध्येमा एक सिटमा एकजना यात्रु राखेर सवारी चलाउन सकिने निर्णय गरेको थियो । सिट क्षमताभन्दा आधामात्र यात्रु राखी कोरोना भाइरसको संक्रमणबाट बच्न त्यस्ता सवारीमा सेनिटाइरजसमेत राखेर चलाउन सकिने निर्णय नेपाल सरकारले गत २६ गते असार निर्णय गरेको छ । तर निर्णय कार्यान्वयनमा समस्या परेको छ ।
सिट क्षमताभन्दा आधामात्र यात्रु राखी कोरोना भाइरसको संक्रमणबाट बच्न त्यस्ता सवारीमा सेनिटाइजर समेत राखेर चलाउन सकिने निर्णय भएपनि सहीरूपमा कार्यान्वयन हुन नसकेको यो गतिलो उदाहरण हो ।
फोटो सौजन्यः डम्बर ओख्राबु