विराटनगरः साइकलमा २३ लाख भन्दा धेरै मूल्य बराबरको सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको विराटनगर महानगरपालिका–१६ दरैयाबाट २३ लाख ७१ हजार रुपैयाँ बराबरको सुनसहित एक जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ का ५५ वर्षीया शेमपेन गुप्ता रहेका छन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बख्रीबाट खटिएको टोलीले सुनसहित पक्राउ गरेको हो । उनको साथबाट स्रोत नखुलेको २ सय ६७ ग्राम २ सय २० मिलिग्राम सुन बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
साइकलमा दूध बोकी हिँडिरहेको अवस्थामा शंका लागेपछि सुरक्षा जाँच गर्ने क्रममा सो परिमाणको सुन फेला परेको हो । उनको साथबाट ५ हजार रुपैयाँ र एक थान मोबाईल सेट पनि बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।