धरानः धरानका हालसम्म ४६ जना संक्रमित पुगेका छन् । ४६ जनामध्ये हालसम्म २५ जना निको भएर घर फिरेका छन् ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले हाल ४६ जनामध्ये २१ जनामात्रै संक्रमित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालको आइसोलेसन कक्षमा उपचाररत रहेको जानकारी दिए । उनीहरूको पनि स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए । ‘अहिलेको अवस्था हेर्दा थपिने क्रम बढ्दै छ, त्योसँगै निको भएर घर फिर्ने पनि बढेका छन्, यो खुशीको कुरा हो ।’ उनले भने ।
आइतबार २ सय ५१ जनाको स्वाब संकलन
यसैबीच धरानमा मास टेस्टिङका क्रममा आइतबार २ सय ५१ जनाको स्वाब संकलन भएको उनले जानकारी दिए । उनले धरान उपमहानगरपालिकाकै कर्मचारीमा पनि कोरोना देखिएपछि धरान उपमहानगरपालिका, वडामा छुटेका जनप्रतिनिधिलगायतको अन्यको गरेर यतिका संख्यामा स्वाब संकलन भएको उनले जानकारी दिए । ‘विशेषतः अहिले जोखिममा रहेर काम गर्नेको स्वाब लिने काम भइसकेको छ ।’ उनले भने, ‘रिपोर्ट आउन बाँकी छ ।’ अहिलेसम्म एक हजार बढीको स्वाब लिइएको उनले जानकारी दिए ।
धरानमा कोरोना संक्रमित खोज्न
धरानमा अहिले समुदायमा समेत कोरोना संक्रमित फैलिँदै गएपछि धरानमा लकडाउन जारी छ । मास रेन्डम टेष्ट तीब्रता दिइएको र लकडाउनलाई प्रभावकारी बनाउन र कडाइका पालना गराउन धरानमा स्वास्थ्यका लागि ७० जना स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालित छ ।
यस्तै, इलाका प्रहरी र धरान उपमहानगरपालिकाका नगर प्रहरी गरी डेढ सय प्रहरी परिचालित छन् । स्वास्थ्यकर्मीले दिनहुँ परीक्षणलाई तीब्रता दिन रातदिन नभनी खटिइरहेको प्रमुख मेहता बताउँछन् ।
सुरक्षा सतर्कताका लागि प्रहरीले नाका (धरान–१७, तीनकुने, पानबारी, शिवधारालगायत) मा कडाइ र लकडाउनलाई प्रभावकारी बनाउन भूमिका खेलिइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । ‘अत्यावश्यकबाहेकका सवारीसाधनबाहेक केही प्रवेश गर्नै दिएका छैनौं ।’ उनले भने ।