विराटनगरः मान्छेमा कोरोना भाइरसको जोखिम बढिरहेका बेला गाईभैंसीमा अर्को महामारीको संकेत देखिएको छ । त्यो रोग हो, लम्पी स्किन ।
पूर्वी जिल्लामा देखिएको लम्पी स्किनका बारेमा सम्बन्धित मन्त्रालय र पशुसेवा विभागले चासो देखाएर सजग रहन आग्रह गरेका छन् । यो रोग लागेको दुधालु पशुहरुको ८० प्रतिशत दूध नष्ट हुने भएकाले दूध उत्पादनमा लागेका किसानले ठूलो नोक्सानी बेहोर्नुपर्ने सम्भावना भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । विशेषगरी गाईहरुमा र कहिलेकाँही भैंसीमासमेत देखिने यो रोग अहिलेसम्म मोरङ, चितवन र मकवानपुरका ३४ वटा नमुना परीक्षण गर्दा सबैमा पोजेटिभ भएको पाइएको छ । अहिलेसम्म १२ वटा गाईहरु यो रोगबाट मरेका पुष्टि भएको छ ।
घाँटी, पुच्छर वरिपरिको भाग, पेट थुन लगायतका शरीरका विभिन्न भागहरुमा गिर्खा देखिने, कचेरा आउने, सिँगान बग्ने, मुखबाट धेरै फिँज निकाल्ने, ८० प्रतिशतसम्म दूध उत्पादन घट्ने, बाँझोपन हुने यो रोगका लक्षण भएका कृषि विभागका महानिर्देशक डा वंशी शर्माले जानकारी दिए ।
यो रोग विरुद्ध नेपालमा अहिलेसम्म खोप उपलब्ध छैन । रोग देखिएको ठाउँबाट गाईभैँसी ओसारपसार नियन्त्रण गर्नु, गोठ वरिपरिको वातावरण सफा राख्नु, नै यो रोगबाट बच्ने मुख्य उपाय भएको डा शर्माले बताए ।