धरानः विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ संक्रमितको संख्या नेपालमा पनि थपिरहँदा त्यसकै भयका कारण मानसिक रोगको जोखिम बढिरहेको छ ।
कतिपय यसअघि नै औषधि खाइरहेका बिरामी त कतिपय नयाँ बिरामीमा मानसिक समस्या देखिन थालेको चिकित्सकले बताएका छन् । कतिपय बिरामीमा सामान्य रुघाखोकी पनि कोरोना भाइरस नै हो भन्ने रूपमा लिने गरेको मनोचिकित्सक डा. अनन्तप्रसाद अधिकारीले बताए । उनका अनुसार कतिपय व्यक्ति भने रोगको रोकथामका लागि तीन–चार मास्क एकैपटक लगाउने गरेको पाइन्छ । उनले भन, ‘धेरै मास्क लगाउँदा बढी सुरक्षित हुन्छु भन्ने भ्रम ती व्यक्तिमा रहेको पाइन्छ ।’
कोभिड–१९ का त्रासका कारण नरम र कडा दुवै किसिमका मानसिक समस्या भएको पाइएको छ । यस समयमा व्यक्तिमा साइकोसिस (वास्तविक र अवास्तविक छुट्याउन नसक्ने अवस्था), एन्जाइटी, डिप्रेसन (नैराश्यता) लगायत मानसिक रोग देखिरहेको छ । ती व्यक्तिमा डराउने, झस्कने, जुनसुकै कुरालाई शंकाका रूपमा हेर्ने, निद्रा नलाग्नेलगायत समस्या देखिन थालेको उनले बताए ।
रोगकै त्रासका कारण कतिपयमा अल्कोहलको प्रयोग अत्याधिक बनाएका छन् । यो समयमा मानसिक समस्या महिला र पुरुष दुवैमा बराबर रहेको अस्पतालमा आउने बिरामीको संख्याले देखाएको छ । लकडाउनका कारण बिरामीको संख्या कम हुनु स्वभाविक भए पनि अहिले पनि बिरामी उपचारका लागि आइरहेको अस्पतालले जनाएका छन् ।
मानसिक रोगको असर सबै उमेर, वर्ग र पेशामा देखिएको भए पनि यस्ता विपद्का समयमा विगतमा औषधोपचार गरेर निको भएका वा हाल उपचार गराइरहेका व्यक्ति बढी जोखिममा रहेका छन् । ती व्यक्तिमा कुनै पनि कुरा सहन नसक्ने समस्या पाइन्छ । बालबालिका पनि रोगको जोखिम रहने डा. अधिकारीले बताए । उनीहरुमा रोग लागेपछि निको नै हुँदैन भन्ने चिन्ता हुनसक्छ । बालबालिकालाई रोगबारे सजग गरे पनि अभिभावकले सही सूचना दिएर अनावश्यक चिन्तामा जान दिन नहुने उनको सुझाव छ । उनले भने, ‘जुनसुकै कुरालाई झिँझो मान्ने, निद्रा नलाग्नेलगायत यो रोगका लक्षण हुन् ।’
कोभिड–१९ का बारेमा आधिकारिक निकायका सूचना मात्रै पढ्न र सुन्न उनले सुझाव दिए । रोगका लक्षण देखिएपछि वा सङ्मणको सम्भावना हुँदा आइसोलेसनमा गए पनि सामान्य अवस्थामा यो समय परिवारसँग बिताउन सकिन्छ । सामाजिक सञ्जालको अत्यधिक प्रयोग गर्नुभन्दा पारिवारका सबै सदस्य एक ठाउँमा बसेर कुराकानी गर्नु उपयुक्त हुन्छ । घरमा बस्दा हुने खाली समय सिनेमा हेर्ने वा संगीत सुनेर बिताउनुपर्ने उनको सुझाव छ । उनले भने, ‘परिवार एकै ठाउँमा बस्दा एकले अर्काको कुरा सुन्ने हँदा डिप्रेसनको जोखिम कम हुन्छ ।’