धरानः राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सय एक वर्षको उमेरमा मंगलबार साँझ निधन भएको छ । उनको आज (बुधबार) बिहान १० बजे पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्यष्टि हुँदैछ ।
उनले वि.सं. २०१६ सालमा लेखेको एउटा गीत भने आफ्नो मृत्युपछि मात्रै सार्वजनिक गर्न भनेका थिए । जुन गीत उनको मृत्यपछि हिजो मात्रै सार्वजनिक भएको छ । राष्ट्रकविको उपाधि पाएका घिमिरेले नेपाली भाषा र साहित्यमा उल्लेख्य योगदान गरेका छन् । नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख, प्रबन्धजस्ता अनेकौं विधा उपविधाहरुमा स्व. घिमिरेले कलम चलाएका थिए । उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नरकिन्नरी (वि.सं. २०३३) जस्ता कवितासंग्रह छन्। ‘गौरी’ उनको चर्चित खण्डकाव्य (शोककाव्य) हो ।
चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’देखि ‘फूलको थुंगा बगेर गयो’, ‘आजै र राति के देखें सपना’ जस्ता गीतहरुको घिमिरेले रचना गरेका थिए ।
सार्वजनिक भएको गीतमा आशिष अविरलले संगीत भरेका छन् भने कर्णदासले स्वर दिएका छन् । घिमिरेले आफू बितेपछि सबै सञ्चारमाध्यमलाई उपलब्ध गराउनु भनेर रेकर्ड गराएको गीतको शब्द यस्तो छः
त्यसरी होओस् मरण
जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होओस् मरण
सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन
बिहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भुइँमा विनापवन
त्यसरी होओस् मरण
मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन
बादलको सेतो राशमा, दुइटा मूर्ति पासमा
जसरी शिर नुहाई, आफैंमा हुन्छन् अर्पण
त्यसरी होओस् मरण
अमरापुरी सभामा आफैँलाई गरूँ वरण
त्यसरी होओस् मरण ।।