धरानः नेपालमा लकडाउनका कारण नवजात शिशुको मृत्युदर बढेको जनाइएको छ ।
एक नयाँ अन्ययनले नवजात शिशुको स्वास्थ्य अवस्था थप नाजुक बन्दै गएको जनाएको छ । चैतदेखि साउनसम्म अध्ययन गर्दा नवजात शिशुको मृत्यु दर बढेको पाइएको छ ।
नवताज शिशुको मृत्युदर प्रतिहजार जन्ममा १३ रहेको अवस्थामा लकडाउनको समयमा ४० पुगेको अध्ययनले देखाएको छ । कोरोना संक्रमणको जोखिमका कारण अधिकांश अस्पतालले प्रसूति सेवा बन्द गरेपछि यस्तो अवस्था आएको अध्ययन गर्ने संस्था ल्यान्सेटको भनाइ छ ।
ल्यानसेटसँग कुरा गर्दै डाक्टर ल्हामो शेर्पाले अधिकांश अस्पतालले प्रसूति सेवाका लागि अन्यत्रै रिफर गर्ने गरेको बताएका छन् । ‘अधिकांश अस्पतालमा प्रसूति सेवा बन्द थिए । भएकाहरुले पनि अन्यत्रै रिफर गरेका थिए । त्यसैले समयमै सेवा नपाउँदा नवजात शिशुको मृत्यु दर बढेको हुनसक्छ,’ उनले भनेका छन् ।
अध्ययन गर्ने संस्थाले मातृ तथा नवजात शिशुको स्वास्थ्यका लागि सरकारले प्रसुति सेवालाई चुस्त नराखे मृत्यु दर बढ्ने बताएको छ । संस्थाले २१ हजार ७ सय ६३ जना सुत्केरी महिलामा अध्ययन गर्दा २० हजार ३ सय ५४ जनाले बच्चा जन्माएका थिए । त्यसमध्ये १० हजार ५ सय ४३ ले मात्रै पूर्ण स्वास्थ्य सेवा पाएको अध्ययनको दाबी छ । यस्तै, आमाको पेटभित्रै मृत्यु हुनेको संख्या प्रतिहजारमा अध्ययन गर्दा १४ बाट २१ पुगेको संस्थाले जनाएको छ ।