धरानः धरान–१७ मा आमाछोरीपछि सासुको पनि पोजेटिभ रिपोर्ट आएको छ ।
धरान–१७ स्थित रेल्वेमा थप दुईजनालाई कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए । सासुसहित अर्की महिलामा पोजेटिभ रिपोर्ट आएको उनले जानकारी दिए । अहिले ती आमाछोरी होम आइसोलेसनमै रहेको र उनीहरूको कन्टयाक्ट ट्रेसिङका आधारमा उनमा पनि कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिए ।
यस्तै, बीपीकै इमरजेन्सीमा कार्यरत् एकजना कर्मचारी, एकजना इटहरीकालगायत अन्य ठाउँका समेत गरी जम्मा ८ जनामा कोरोना पुष्टि भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । ८ जनामध्ये सुनसरीका मात्रै ४ जना रहेको उनले जानकारी दिए । यस्तै, इटहरीकी एकजना महिलामा पनि पोजेटिभ रिपोर्ट आएको छ । दुईपटक चेकजाँचका क्रममा उनमा पोजेटिभ रिपोर्ट आएको प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाले जानकारी दिए ।
‘खासमा ११ सय ५ जनाको पिसीआर परीक्षण गरिएको थियो, ती मध्ये ४१ जनाको रिपोर्ट पोजेटिभ आएको छ’, उनले भने, ‘४१ जनामध्ये ८ जनाचाहिँ धरानमा स्वाब लिइएका व्यक्तिहरु हुन्, उनीहरूको रिपोर्ट पोजेटिभ आएको छ अन्य ३३ जनामध्ये कतिपय प्रदेश १ का पनि छन्, कतिपय प्रदेश दुईका पनि छन् ।’