धरानः कोरोना खोप बनेर छाड्ने बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयका प्रतिनिधि जोस भ्यानडिलिएरले विश्वमा कोभिड–१९ को खोप बनेर छाड्ने विश्वास व्यक्त गरेका हुन् ।
आगामी वर्ष (सन् २०२१) को शुरुसम्ममा बन्ने उनको विश्वास छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग कोभिड–१९ को अवस्था र बच्ने उपायका बारेमा कुराकानी गर्दै उनले धेरै देशले खोपको अध्ययनमा लागेकाले त्यो सफल हुने धारणा राखेका थिए ।
रसिया, चीनलगायत देशमा खोपको परीक्षण अन्तिम चरणमा रहेको उनको भनाइ छ । खोप आइसकेपछि त्यसले कति समयमा र कसरी काम गर्छ भनी यकीन हुने उनको भनाइ छ । खोप तयार हुँदा दुई ठूलो परिमाणमा तयार हुने र पहिलो चरणमा जोखिममा रहेका समुदायले पाउने उनको भनाइ छ ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, अरु रोग भएका व्यक्ति पछि मात्रै सर्वसाधरणसम्म त्यो खोप पुग्नेछ । खोप सबै देशले पाउने उनले विश्वास व्यक्त गरे । उनले भने, ‘विकास भएको खोप गरिब देशले पनि सहुलियतमा वा निःशुल्क पाउने प्रणाली रहेको छ ।’ भाइरस थुकलगायत छिटाबाट सर्ने हुँदा त्यसबाट जोगिएर रोगबाट बच्न सकिने उनको धारणा छ । माक्सको प्रयोग गरेर र अरु व्यक्तिसँग दूरी कायम गर्नुपर्ने उनको सुझाव छ ।