धरानः धरानका दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै धरानमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । प्रतिष्ठानमा हालसम्म उपचारको क्रममा १७ जना संक्रमितको मृत्यु भइसकेको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार धरान–१७ का दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा एकैपरिवारको ७४ वर्षीया महिला र उनको ६० वर्षीय छोरा रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताएका छन् । उनीहरू कान्छी आमा र छोरा रहेको उनले जानकारी दिए ।
उनीहरूको ४५ मिनेटको फरकमा मृत्यु भएको जनाइएको छ । वृद्धाको बिहान ८ः३० बजे र उनको छोराको बिहान ७ः४५ बजे मृत्यु भएको प्रवक्ता डा. सापकोटाले बताएका छन् । शनिबार राति मात्र अस्पताल भर्ना भएको उनीहरूको मृत्युपश्चात् मात्र कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्यमा समस्या भएपछि शनिबार उनीहरूलाई परिवारले प्रतिष्ठान भर्ना गरेका थिए ।
ती ७४ वृद्धालाई १ हप्ता अघि अत्याधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएको र गम्भिर अवस्थामा शनिबार राति साढे ८ बजे अस्पताल भर्ना भएको प्रवक्ता डा. सापकोटाले जानकारी दिए । उनीमा मधुमेह र उच्च रत्तचापको दीर्घकालिन समस्या रहेको उनले बताए ।
यस्तै, उनको छोरालाई भने १० दिनदेखि अत्याधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएको थियो । उनलाई हिजो ८ः५९ बजे अस्पताल भर्ना गरिएको थियो । उनमा मधुमेह र २ महिनादेखि कलेजोमा समस्या देखिएको बताइएको छ । दुवैको शव व्यवस्थापनको कार्य भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।