धरानः सुनसरीमा निषेधाज्ञालाई खुकुलो बनाइने निर्णय भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले निषेधाज्ञालाई केही खुकलो बनाउने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले डिसिसिएमसीको बैठक बसेर नै यस्तो निर्णय गरेको बताए । स्वास्थ्यका मापदण्ड पालना गर्दै बिहान १० बजेसम्म पसल खोल्न दिने निर्णय भएको उनले जानकारी दिए । ‘अब केही खुकलो बनाउँदै जाने भनी निर्णय भएको छ’, उनले भने, ‘पसल १० बजेसम्म खोल्न पाइनेछ, हाट बजार लगाउन भने पाइने छैन ।’ उनका अनुसार सैलुन, ब्युटीपार्लर, स्पा, व्यायमशाला जस्ता व्यवसायहरु भने सञ्चालन गर्न पाइने छैन ।
बिहान १० बजेसम्म खुल्ने पसलमा भीडभाड हुन नदिन गोलो घेराको प्रबन्ध मिलाउने काम व्यवसायीको भएको उनले बताए । ‘गोलो घेरामा भीडभाड नबनाइ १० बजेसम्म पसल खोल्न पाइनेछ’, उनले भने, ‘मास्क र पञ्जा अनिवार्य प्रयोग गर्न भनिएको छ ।’ यस्तै, राति ९ बजेदेखि बिहान ५ बजेसम्म डिँडडुल गर्न भने प्रतिबन्ध लगाइएको छ ।
यस्तै, जोरविजोर प्रणालीका आधारमा सिटी सफारी मात्रै सञ्चालन हुन दिने निर्णय भएको बताइएको छ । चालकले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, प्रवेश गर्नुपूर्व यात्रुलाई अनिवार्य सेटिनाइजर उपलब्ध गराउने, २ जना भन्दा बढी यात्रु राखेर चलाउन नपाउने र जोरविजोर प्रणालीमा सिटी चलाउन पाउने निर्णय भएको उनले जानकारी दिए । यसअघि सुनसरीमा पटकपटक निषेधाज्ञा हुँदा सुनसरीका व्यवसायीले पसल खोल्न प्रस्ताव गरेका थिए । हिन्दु नेपालीहरूको महान पर्व बडादशै र तिहार नजिकिएसंगै धेरैजसो ब्यवसायीहरूले पसल खोल्न पाउनुपर्ने माग राखेसंगै सोमबार बिहान जिल्लामा रहेका सबै उद्योग वाणिज्य संघका पदाधिकारीहरूसँगको छलफलपछि यस्तो निर्णय भएको उनले जानकारी दिए ।
यसअघि सुनसरीमा निषेधाज्ञा जारी हुँदा धरानमा पनि १७ गतेसम्म लकडाउन आयोजना गरिएको थियो । यता धरान उपमहानगरपालिकाले के निर्णय गर्ने हो भन्ने सबैलाई खुलदुली छ । धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठक आज बस्न सकेको छैन । ‘खासमा आज बैठक बस्नुपर्ने हो तर बस्न सकेन’, धरान–९ का वडाध्यक्ष रत्न कटुवालले भने, ‘सायद आज भोलि बैठक बसेर के गर्ने भन्नेबारेमा निर्णय आउँछ ।’

