धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एकजना महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । योसँगै प्रतिष्ठानमै मृत्यु हनेको संख्या २३ पुगेको छ ।
कोभिड अस्पतालमा उपचारत् उनको आइतबार बिहान १०ः ४५ बजे मृत्यु प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । गत १८ गते अस्पतालमा भर्ना भएकी झापाको कन्काई नगरपालिका–३ की ४५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । महिलामा १८ गते नै कोरोना पुष्टि भएको थियो ।
मधुमेहको समस्या भएकी महिला कब्जियत, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि झापाको मेची अञ्चल अस्पतालमा भर्ना भएकी थिइन् । गम्भीर स्वास्थ्य समस्या भएकोले त्यहाँबाट १८ गते प्रतिष्ठान रिफर भएकी थिइन् । परीक्षणका क्रममा महिलामा निमोनियासमेत देखिएको र अवस्था गम्भीर भइसकेकोले भेन्टिलेटरको सहायताले उपचार गर्दा पनि उनको मृत्यु भएको डा. सापकोटाले जानकारी दिए ।
उनकाअनुसार प्रतिष्ठानमा भर्ना हुनासाथ स्वाव संकलन गरेर पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । हालसम्म बीपीमा मृत्यु हुने सबै दीर्घरोगी रहेको उनले जानकारी दिए । ‘जो लामो समयसम्म अस्पताल बसिरहेका छन्, जसको दीर्घ फोक्सोको रोग छ वा गम्भीर दमको रोग छ, ती व्यक्ति जसको रोग प्रतिरोधात्मक क्षमता छैन जस्तै क्यान्सरको गम्भीर चरणमा भएका बिरामी, जो अत्यधिक मोटा छन् र उनीहरुलाई दीर्घ मधुमेह, किड्नी फेल, कलेजोको दीर्घ रोग छ, गर्भवती महिला जसलाई अन्य दीर्घ रोग छन्’, त्यस्तालाई कोरोनाले अलि बढी च्याप्ने हो’ उनले भने, ‘त्यस्तै व्यक्तिको नै मृत्यु भइरहेको छ ।’