धरानः अन्ततः धरानलगायत सुनसरीभरीका बजार अब दिउँसो २ः०० बजेसम्म खोल्न पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले दिउँसो २ः०० बजेसम्म बजार, पसल खोल्न पाइने निर्णय भएको हो । आजैदेखि लागूहुने गरी बजार तथा पसल खोल्न पाइने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गर्दै यस्तो निर्णय भएको जनाएको छ । डिसिसिएमसीको मंगलबार बसेको बैठकले सो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले जानकारी दिए ।
उद्योगी, व्यवसायी तथा अन्य समेतको मागअनुसार पसल खोल्ने सम्बन्धमा २ बजेसम्म समय दिइएको र यसको अनुगमन गर्ने जिम्मा स्थानीय तह र उद्योग वाणिज्य संघलाई दिइएको जनाइएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले हाललाई सैलुन, ब्युटीपार्लर, स्पा, व्यायामशाला खोल्न नपाइने र होटल तथा रेष्टुरेन्टले अनलाइन डिलिभरी र टेकअवेको विधी बाहेक अन्य सेवा दिन नपाइने बताइएको छ । फुटपाथ सामान बिक्री गर्न पनि नपाइने भएको छ । यसअघि बिहान १० बजेसम्म मात्र बजार तथा पसल खोल्न दिइएको थियो ।