धरानः धरानमा संक्रमित बढ्दै गएका छन् । धरानमा हालसम्म २ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
बुधबार एकैदिन १३ जनामा कोरोना पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले १३ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार धरान-१९ को २१ वर्षीया युवती, धरान-३ की २३ वर्षीया युवती, धरान-३ कै ४६ महिलामा कोरोना पुष्टि भएको छ । यस्तै, धरान-३ कै ३६ वर्षीय पुरुष, धरान-५ का १५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
उनका अनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दुई डाक्टरसहित अन्यमा पनि कोरोना पुष्टि भएको छ । कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई पहिलोपटक संक्रमण देखिएको हो । २९ वर्षीय पुरुष डाक्टर र ३४ वर्षीया महिला डाक्टरमा संक्रमण पुष्टि भएको हो । यस्तै, बीपीमै कार्यरत् धरान-८ बस्ने ६० वर्षको पुरुष, ५० वर्षीय पुरुष, २६ वर्षीया युवती, १५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको हो ।
यस्तै, धरान-१६ वृद्ध दम्पत्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनका अनुसार ७८ वर्षीय वृद्ध र ७० वर्षीया वृद्धालाई संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार हालसम्म धरानमा समुदायस्तरमै पनि कोरोना संक्रमण पुष्टि भइरहेको छ । धरानमा कोरोनाबाट ६ जनाले ज्यान गुमाएका छन् । उनले ट्राभल हिस्ट्री नभएका, कतै कुनै संक्रमणको पुष्टि नभएकामा पनि संक्रमण देखिन थालेको बताए । ‘हाम्रो बुझाइ भनेको समुदायमा गएको भन्ने नै हो, अहिलेसम्म देखिएकामध्ये केहीमा यस्तो कुनै प्रकारको हिस्ट्री छैन, कोही कसैको प्रत्यक्ष सम्पर्कमा नआएकामा पनि देखिनुले समुदायमै पनि कोरोना पुगेको पुष्टि हुन्छ ।’ उनले भने ।