Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका रोहितको ‘प्रिय तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

हाम्रो कोशी आवाज
भाद्र २६ २०७७, शुक्रबार
धरानका रोहितको ‘प्रिय तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

धरानः धरान आफैमा साङ्गीतिक उर्वरभूमिको रूपमा पहिलेदेखि नै प्रख्यात छ । धरानमा पहिलेदेखि नै ‘प्रोफेसनल’ रुपमा होस् या सौखको रूपमा होस धेरैजसो युवाहरू सङ्गीतमा लागेका नै हुन्छन् र त्यसमा कोही सफल पनि भएका छन् र कोही असफल त कोही आफ्नै घरायसी कामकाजमा फँसेर चाहेरपनि निरन्तरता दिन सकिरहेका हुँदैनन् । यस्तै धरानका एक पुराना गायक हुन् रोहित मास्के । उनले करिब अढाई दशकपछि आफ्नो नयाँ गीत ‘प्रिय तिमीलाई’ म्युजिक भिडियो सहित भर्खरै मात्र रिलिज गरेका छन् ।
२०४९ सालताका ‘निश्चल’ नामक साङ्गीतिक एल्वम बजारमा ल्याएका गायक रोहितको टेक्सी टेक्सी, मेरी मायालु बोलका गीतहरू त्यसबेला रुचाइएका थिए र सो एल्वममा उनले त्यसबेला नाम चलेका चर्चित गायिकाहरू सुक्मित गुरुङ, सपनाश्री परियार र भगवती तुम्वाहाम्फेसँगै युगल गीतहरु समेत गाएका थिए ।
धरानको देउसीभैलोदेखि विभिन्न साङ्गीतिक कार्यक्रममा आफूलाई अब्बलरूपमा अगाडि बढाएपनि एल्वम निकालेको केही समयपछि नै उनले हङकङलाई आफ्नो कर्मथलो बनाएका थिए । जसले गर्दा त्यसपछि भने उनी उतै भुलिए । उता हुँदापनि यदाकदा फुर्सदको केही समय सङ्गीतमा रमाउने मौका पाएका रोहितले केही गीतहरू रेकर्ड गराए भने उतै निर्मित ‘चुकेको चुरा’ नामक चलचित्रमा सङ्गीत तथा स्वर समेत दिएका छन् ।
हङकङमा हुने साङ्गीतिक कार्यक्रममा पनि उनी छुट्दैन थिए । केही वर्षअघि मात्र उनी आफ्नै जन्मथलो धरान नै बस्ने गरी फर्किएका छन् । धरान आएपछि भने, ‘उनले आफ्नो काम सँगसँगै आफ्नो सांगीतिक शोख पनि पूरा गरिरहेका छन् । धरानमा हुने यदाकदा विभिन्न साङ्गीतिक कन्सर्टहरूमा झुल्किरहने गायक रोहितले कोरोना महामारीले ल्याएको लकडाउनको सदुपयोग गर्दै धरानका अन्य सङ्गीतकर्मीहरू सञ्जीव लामा, हेम सुब्बा र मनोज मोतेको सहयोगमा ‘हामी बाँचौ’ बोलको सन्देशमूलक गीत निकाले । गीतको राम्रो प्रतिक्रियाले हौसिएका गायक रोहितले पहिलो लकडाउनमा सङ्गीत दिवस, मलाई धेरै धेरै माया लगायतका गीतहरू पनि निकाले ।
अहिले भने उनले सञ्जीव लामाको शब्द, सङ्गीत र निर्देशनमा ‘प्रिय तिमीलाई यो जुनीभरी’ बोलको गीत भिडियोसहित आफ्नै युट्युब च्यानलमार्फत् रिलिज गरेका छन् । प्रशान्त तामाङले छायाङ्कन तथा सम्पादन गरेको गीतको भिडियोमा लाजु श्रेष्ठको अभिनय रहेको छ ।
धरानको धरान सङ्गीत प्रतिष्ठानमा समेत कोषाध्यक्षको रूपमा आवद्ध रहेका गायक अब भने पहिलेदेखि साँचेका र केही नयाँ गीतहरु तुरुन्तै रेकर्ड गर्नका लागि लागिपरेका छन् । आफ्नो समयमा नगरेपनि निरन्तरताको लागि भएपनि धरानको सङ्गीत क्षेत्रलाई टेवा पुग्ने काम गरिरहने सोंच छ गायक रोहितको ।

प्रकाशित मिति: भाद्र २६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend