विराटनगरः मोरङको २ स्थानबाट नियन्त्रित लागूऔषध गाँजा र ट्याब्लेटसहित ४ जना पक्राउ परेका छन् ।
शुक्रबार अपराह्न ५ बजे इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रित लागूऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको हो । गस्तीमा खटिएको प्रहरी टोलीले केरावारी १० गैह्रीगाउँस्थितमा पैदल हिँडिरहेका धरान–१५ का १९ वर्षीय अजय तामाङ, २२ वर्षीय च्यामन राई र लेटाङ नगरपालिका–७ का १८ वर्षीय रोहन तामाङलाई चेकजाँच गर्दा निजहरुको साथबाट एक केजी गाँजा बरामद भएको थियो ।
यसैगरी इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध ट्याब्लेटसहित १ भारतीय नागरिकलाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो ४ बजे भारत पिप्राहा विष्णुपुर बस्ने १८ वर्षीय दीपेश यादव ७५ एम्पुल डाइजेपामसहित पक्राउ परेका हुन् ।
बिआर३८एच६३५९नम्बरको मोटरसाइकलमा सवार रहेका यादवलाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलको सिट मुनी लुकाइछिपाई राखेको अवस्थामा सो परिणामको लागूऔषध बरामद भएको थियो । लागूऔषधसहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उता झापाको बिर्तामोड बगरपालिका–३ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगर सहित एकजना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका ३ मा गोपाल गौतमले सञ्चालन गरेको गोपाल एग्रोभेटमा लागूऔषध ब्राउनसुगरको कारोबार हुने गरेको भन्ने गोप्य सूचनाका आधारमा शुक्रबार दिउँसो ४ बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सो एग्रोभेटबाट २२ ग्राम नियन्त्रित लागूऔषध ब्राउनसुगर बरामद गरेको थियो । लागूऔषध ब्राउनसुगर बरामद भएसँगै एग्रोभेट सञ्चालक ३० वर्षीय गोपाल गौतमलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।