धरानः जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले अब चुनाव नजिकिएकोले तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
धरानस्थित चुम्लुङ हिममा सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रममा बोल्ने उनले सो कुरा बताएका हुन् । वरिष्ठ नेता राईले पार्टी तेस्रो शक्ति भएपनि त्यो पर्याप्त नभएको बताए । ‘अब चुनाव नजिकै आइसकेको छ, सबै तयारी अवस्थामा रहनुपर्छ, अब पार्टी वैकल्पिक र थप मजबुत बनाएर जानको लागि सबै लागौं ।’ उनले भने ।
यो संविधानले आदिवासी, मधेसी, दलित समुदायलाई समेट्न नसकेको आरोप पनि उनले लगाए । शनिबार पार्टी प्रवेश गर्नेहरूलाई वरिष्ठ नेता राईले खादा लगाएर स्वागत गरेका थिए । पार्टी प्रवेश गर्नेहरूमा चन्द्र सोताङ, जगत घताने, शिव इश्वो, रामप्रसाद राई, हरेन्द्र विक, दिलकुमार लिवाङ, श्यामकुमार श्रेष्ठ, श्रीकुमार श्रेष्ठ, वसन्ती श्रेष्ठ, गंगा चेम्जोङ, पृथ्वी चेम्जोङ, अशोकचन्द्र राई, विस्ना लिम्बू, विनोद राई, तेज इश्वो, रुपेश इश्वो, सोममाया लिम्बू, चन्द्रकला श्रेष्ठ, दवा शेर्पा, ज्ञानबहादुर राई रहेका छन् ।
पार्टी प्रवेश गर्नेहरुमध्येबाट चन्द्र सोताङले कांग्रेस र नेकपा हेरिसकेपछि जनता समाजवादी साँच्चैको पार्टी भएकोले नै आफू पार्टी प्रवेश गरेको बताए । यसअघि आफू वाइसीएलको इन्चार्ज समेत भएको बताए । उनले भाषणभन्दा पनि काममा विश्वास गर्ने भन्दै काम गर्नुपर्ने बताए ।
