धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगरका कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । योसँगै प्रतिष्ठानमा कोरोना संक्रमितको उपचार गर्दा गर्दै मृत्यु हुनेको संख्या २५ पुगेको छ ।
विराटनगर महानगरपालिका–१२ का ७० वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको हो । वृद्धलाई १६ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो । विराटनगरको म्याक्स अस्पतालमा उपचारका क्रममा रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई १७ भदौमा बीपी प्रतिष्ठान धरान रेफर गरिएको थियो ।
श्वारप्रश्वास, खोकी र ज्वरोको समस्या भएका वृद्धको उपचारका क्रममा आइतबार दिउँसो सवा २ बजे मृत्यु भएको बीपी प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।
लामो समयदेखि उच्च रक्तचापको दीर्घरोगी समेत रहेका ती पुरुषको प्रतिष्ठानस्थित कोभिड अस्पतालमा उपचार भइरहेको थियो । प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाकाअनुसार संक्रमित पुरुषलाई प्रतिष्ठानको कोभिड अस्पतालको आइसियुमा राखेर उपचार गर्दागर्दैै मृत्यु भएको हो ।