धरानः नेपालमा कोरोना संक्रमण पुष्टि भएको संख्या ७० हजार ६ सय भन्दा बढी पुगेको छ । संक्रमितको संख्या उलेख्य हुँदा पनि नेपाल संक्रमणको कुन चरणमा छ भन्नेबारे एकमत पाइँदैन ।
दाबीलाई पुष्टि गर्ने तथ्यांकसहितको अध्ययन भने हालसम्म कसैले गरेका छैनन् । यसै विषयलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले समुदायबाट रगतको नमूना संकलन गरी एन्टिबडी परीक्षण गर्ने भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को प्राविधिक सहयोगमा दशैंअघिसम्म समुदायमा कोरोना भाइरसको अवस्था पत्ता लगाउन यो परीक्षण गरिसक्ने महाशाखाको लक्ष्य छ ।
यस परीक्षणमा समुदायका व्यक्तिहरुको रगतको नमूना लिई त्यसलाई प्रयोगशालामा जाँचिन्छ । प्रयोगशालामा जाँचिएका नमूनामा भाइरससँग लड्ने क्षमता विकास भए–नभएको भनि हेरिने अध्ययनलाई ‘एन्टिबडी टेस्ट’ भनिने निर्देशक तथा भाइरोलोजिस्ट डा.बासुदेव पाण्डेले बताए ।
‘एन्टिबडी परीक्षणले उक्त समुदायमा संक्रमणको स्तर कस्तो छ भन्ने देखाउँछ । बढी व्यक्तिमा एन्टिबडी देखियो भने त्यहाँ समुदायस्तरमा फैलिएको भन्ने देखाउँछ’, पाण्डेले भने ‘सबैको नतिजा आइसकेपछि हामी तथ्यांकसहित नेपालमा कुन स्तरमा संक्रमण फैलिएको छ भन्ने बताउन सक्छौं ।’