धरानः धरानका अभिभावकले धरान उपमहानगरपालिकामा प्रदर्शन गरेका छन् ।
अभिभावकहरू अभिभावकलाई कङ्गाल नबनाऊ, भर्ना शुल्क खारेज गर, मासिक शुल्क उचित गर, शैक्षिक व्यापारीको अत्याचार, जनताको कुरा सुन स्थानीय सरकारलगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उपमहानगरपालिका पुगेका थिए ।
उपमहानगरपालिका शिक्षा महाशाखामा र उपप्रमुख मञ्जु भण्डारीको कार्यकक्षमा पुगेर अभिभावकहरूले दबाव समेत दिएका थिए । उनीहरूले शैक्षिक संस्था सञ्चालन र शुल्क निर्धारण समितिमा प्रतिनिधि समावेश गराउन समेत माग गरे । उनीहरुले शुल्क निर्धारणबारे निर्णय गर्न ढिलाइ गरेको प्रति उपमहानगरपालिकासँग असन्तुष्टि पोखेका थिए ।
अभिभावक विकास भाटीले शुल्क निर्धारण समितिमा स्कुल सञ्चालक, धरान उपमहानगरपालिकाका प्रतिनिधि सबै सहभागी भएपनि अभिभावक सहभागी हुन नपाएको बताए । ‘खासमा शुल्क निर्धारण गर्दा होस् वा अन्य कुरामा अभिभावकको उपस्थिति देखिएको छैन’, उनले भने, ‘त्यसैले जुनसुकै अवस्थामा पनि अभिभावकलाई सहभागी गराउनुपर्छ ।’ उनले शुल्कबारेको निर्णय आउन ढिलाइ भइरहेको पनि बताए ।
उनीहरूले अभिभावकबाट प्रतिनिधित्व होस् भनी १३ जनाको प्रतिनिधिहरुको नाम सार्वजनिक गरेका छन् । प्रतिनिधिहरूमा सूर्य भण्डारी, विकास भाटी, अमृत मानन्धर, सुवर्ण श्रेष्ठ, विनोद तिमिल्सिना, अनिता राई, सुशीला राई, दुर्गा श्रेष्ठ राई, जयदेव घिसिङ, , गृष्म न्यौपाने, मदन राई, सुनिल श्रेष्ठ र दुर्गा लिम्बू छन् । यसअघि उनीहरूले वैशाखदेखि नै शुल्क लिएको भन्दै मेयर तिलक राईलाई ज्ञापनपत्र समेत बुझाइसकेका छन् । फाइल फोटो
