धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत् चिकित्सक (डाक्टर) ले उपकुलपति डा. ज्ञानेन्द्र गिरीको राजीनामा माग गरेका छन् ।
उनको काम गर्ने शैलीप्रति असुन्तुष्टि जनाउँदै राजीनामा माग गरेका हुन् । चिकित्सकहरूप्रति उपकुलपति गिरीको कार्यशैली र व्यवहारमा परिवर्तन नआए सामूहिक राजीनामा दिने पनि चेतावनी दिएका छन् ।
प्रतिष्ठानको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजमा आबद्ध ३ सयजनाभन्दा बढी चिकित्सकहरूले उपकुलपति गिरीको राजीनामा गरेका हुन् । समाजका महासचिव डा. एसपी रिमालले समाजले उपकुलपति गिरीलाई १७ बुँदे ध्यानाकर्षणपत्र बुझाएको जानकारी दिए ।
उनीहरूले रातदिन काम गरिरहेका फ्याकल्टी शिक्षक चिकित्सकहरूको बढुवा प्रक्रिया रोकिए, कोभिड अस्पतालमा नेगेटिभ प्रेसर आइसियु, प्रयोगशाला, रेडियोलोजी र अपरेसन कक्षसहितको स्वास्थ्यकर्मी तथा बिरामीको यथेष्ट सुरक्षाको प्रत्याभूति हुनेगरी सञ्चालन गर्न नसकेको आरोप लगाउँदै आएका छन् ।
प्रतिष्ठानको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेलले फ्याकल्टीका न्युनतम माग समेत पूरा हुन नसक्नु दुःखद भएको बताए ।
आन्दोलनमा प्रतिष्ठानका पूर्व शिक्षाध्यक्ष प्रा.डा.विक्रमप्रसाद श्रेष्ठ, प्रवक्ता डा. निदेश सापकोटा, सिनियर चिकित्सकहरू प्रा.डा.रविन मास्के, प्रा.डा.विक्रम प्रधान, प्रा.डा. नरेन्द्र भट्टलगायत सहभागी छन् । उनीहरूले मंगलबार पनि धर्ना कार्यक्रम जारी राखे । भदौ १९ गते माग पत्र बुझाएर फ्याकल्टीहरूले गत बिहीबारबाट धर्ना सहित शान्तिपूर्ण आन्दोलन गरिरहेका छन् । उनीहरूले माग प२रा नभएसम्म आन्दोलन जारी रहने बताउँदै आएका छन् ।
उनीहरूले प्रतिष्ठान सुधारमा चारजना पदाधिकारीको भूमिका शून्य रहेको भन्दै प्रतिष्ठानको नेतृत्व सही ढंगले सञ्चालन गर्न पनि माग गर्दै आएका छन् । चिकित्सक नै आन्दोलनमा होमिएपछि प्रतिष्ठानको स्वास्थ्य सेवा प्रभावित भएको छ । आन्दोलनमा उत्रिएका चिकित्सकले प्रतिष्ठान सुधार गर्नुपर्ने, स्वास्थ्य विमा गर्नुपर्ने, प्रतिष्ठानमा आवश्यक औषधि उपकरण खरिद गर्दा भएको आर्थिक चलखेल बन्द गर्नुपर्ने, वृद्धि भएको तलब निकासा गर्नुपर्नेलगायतका माग समेत राखेका छन् ।
उनीहरूले सोमबार प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्रको कार्यकक्ष अगाडि धर्ना समेत दिएका थिए । प्रतिष्ठानका रजिष्ट्रार प्राडा मोहनचन्द्र रेग्मीले उनीहरूको माग जायज रहेको बताए ।