धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता प्रा.डा.निदेश सापकोटाले प्रवक्ताबाट राजीनामा दिएका छन् ।
उनले बिहीबारको मितिबाट लागू हुने गरी राजीनामा दिएकोबारे जानकारी गराएका छन् । उनी चार महिनाअघि (गत जेठ ८ गते) प्रतिष्ठानको प्रवक्तामा नियुक्त भएका थिए । उनले कार्य व्यस्तताले राजीनामा दिएको जानकारी गराएका छन् । उनले स्वेच्छाले राजीनामा दिएको बताएका छन् ।
उनले राजीनामा दिनुको कारण कार्यव्यस्तता भनेपनि उपकुलपति र उनको सचिवालयको कार्यशैलीबाट असन्तुष्टिको कारण रहेको चिकित्सकहरू बताउँछन् । उनी सिनियर चिकित्सकको आन्दोलनमा पनि अग्रभागमा सरिक थिए ।
आन्दोलनमा उत्रिएका चिकित्सकले प्रतिष्ठान सुधार गर्नुपर्ने, स्वास्थ्य विमा गर्नुपर्ने, प्रतिष्ठानमा आवश्यक औषधि उपकरण खरिद गर्दा भएको आर्थिक चलखेल बन्द गर्नुपर्ने, वृद्धि भएको तलब निकासा गर्नुपर्नेलगायतका माग समेत राख्दै आएका छन् । माग पूरा नभएसम्म आन्दोलन जारी रहने चिकित्सकले बताउँदै आएका छन् । अहिले प्रतिष्ठानको सह प्रवक्तामा डा. आशिस श्रेष्ठ रहेका छन् ।

