धरानः नेपालमा कोरोना संक्रमित निको हुने दर बढ्दै गएको छ । नेपालको निको हुनेको दर ७८.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ९ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार १५० जना निको भएका छन् ।
अनुसार देशभरका प्रयोगशालामा गरिएका १३ हजार ४ सय ४६ को पिसीआर परीक्षणमा २ हजार नौ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा अहिलेसम्म निको हुनेको संख्या एक लाख ३७ हजार ९९२ रहेको छ । देशभर पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ । सङ्क्रमित हुने मध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।
यसैबीच नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेमध्ये करिब २५ प्रतिशतमा अन्य खास स्वास्थ्य समस्या नभएको पाइएको छ । ७५ प्रतिशतमा कोरोनासहित अन्य दीर्घरोग र स्वास्थ्य जटिलतासमेत देखिएको विभिन्न अध्ययनले देखाएका छन् ।
‘कोरोनाको कारण हालसम्म मृत्यु भएका ७५ प्रतिशतमा पहिलेदेखि नै गम्भीर रोग भएको पाइएको छ’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले भने, ‘तर कुनै स्वास्थ्य समस्या नभएका र कोभिड लक्षण मात्र भएका करिब २५ प्रतिशतकोसमेत मृत्यु भएको छ ।’
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा बढी मधुमेहका बिरामीको कोभिडको कारण मृत्यु भएको छ। त्यसपछि उच्च रक्तचाप, दम, क्यान्सर, मिर्गौलालगायत दीर्घरोग भएकाहरुको मृत्यु भएको छ ।