धरानः घर छाडेर लामो समय बेखबर भएका घटना धेरै छन् । कतिपय बाध्यताले घर फिर्दैनन्, कतिपय परिवारले सम्पर्क नगरेपछि घर फिर्दैनन् । यदाकदा फर्केर आएका सुखद घटना पनि समाजमा नभएका होइनन् । यही सुखद घटनाका लागि पर्खेर बसेका छन् धरानका गञ्जबहादुर तामाङ ।
धरान घर बताउने ७५ वर्षीय गञ्जबहादुर विगत दुई वर्षदेखि परिवारदेखि विछोडिएका छन् । शुरुमा केही थाहा नभएपनि अहिले उनले घर कहाँ हो, आफू कुन अवस्थामा थिएँ सबै बताउन थालेका छन् ।
शुरुमा सडकमा नाजुक अवस्थामा भेटिएका उनको प्रहरीको अनुरोधमा उद्दार गरेर संरक्षण गरेर काठमाडौंको मानव सेवा आश्रममा राखिएको रेस्क्यु इञ्चार्ज रामकृष्ण श्रेष्ठले जानकारी दिए ।
धरान पुरानो बजार घर बताउने तामाङको बाँझगरामा तीनजना छोरा र ६ जना छोरी रहेको बताउँदै आएका छन् । ‘धरान घर हो, बाँझगरा भन्ने स्थानमा छोराछोरी छन् म घर जान्छु भनिरहनुहुन्छ’, श्रेष्ठले फोन सम्पर्कमा भने, ‘हामीले उद्दार गरिएकाहरूलाई औषधि उपचार गरेपछि परिवारसँग सम्पर्क भए पुनर्मिलन गराउने गरेका छौं, धरानमा उनको परिवारसँग सम्पर्क भए हामी पुनर्मिलन गराउने तयारीमा छौं ।’
मानव सेवा आश्रम बुढानिलकण्ठ, नारायणथान काठमाडौंमा अहिले उनको बसोबास रहेको उनले जानकारी दिए । ‘खासमा उहाँलाई हामीले पशुपतिनाथ मन्दिरमा मागेर गुजारा चलाउँदै आएको अवस्थामा भेटेका थियौं, त्यतिबेला उहाँ अभावमा तड्पिएको जस्तो अवस्थामा देखेका थियौं, पहिला उहाँ अस्वस्थ हुनुहुन्थ्यो, मानसिकलगायत अन्य समस्या थियो तर औषधि उपचारपछि अहिले ठीक हुनुहुन्छ, स्वास्थ्यअवस्था नर्मल छ,’ उनले भने ।
उनले धेरै परिवारलाई, धेरै वर्षपछि उद्दार गरेर पुनर्मिलन गराउँदै आएको जानकारी दिए । करिब ९ वर्षदेखि मकवानपुरमा कार्यालय रहेको आश्रमको कार्यालय अहिले सातै प्रदेश २१ शाखा रहेको उनले जानकारी दिए । सडक मानवलाई उद्दार गर्र्दै औषधि उपचार, पालनपोषण गर्दै आएको संस्थाले परिवारले चाहे पुनर्मिलन गराइदिने समेत गर्दै आएको उनी बताउँछन् । परिवारले चाहेमा आश्रमका श्रेष्ठलाई ९८४३६०७८२५ मा सम्पर्क गर्न सकिने उनले बताए ।
