धरान (बीबीसी) नेपालमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुने मानिसको संख्या अन्यत्रको तुलनामा थोरै भएको विषय विगत ६–७ महिनादेखि नै चर्चामा रह्यो ।
अहिले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्याङ्क हेर्ने हो भने नेपालमा कुल सङ्क्रमितमध्ये ०.५७ प्रतिशतको ज्यान गएको देखिन्छ । फेला परेको सङ्क्रमितको संख्या र तीमध्ये कतिको मृत्यु भयो भन्नेबाट यो अनुपात निकालिन्छ । हाल नेपालमा फेला पारिएको सङ्क्रमितको सङ्ख्या झन्डै दुई लाख पुग्दै गर्दा ज्यान गुमाउने सङ्क्रमितको संख्या एक हजार नाघेको छ । यो अनुपात छिमेकी भारतमा १.५ प्रतिशत रहेको छ भने बंगलादेशमा १.४ प्रतिशत, पाकिस्तानमा २.० प्रतिशत, र अफगानिस्तानमा ३.७ प्रतिशत रहेको बताइन्छ । दक्षिण एशियाका माल्दिभ्स र श्रीलङ्कामा मृत्युदर नेपालमा भन्दा कम देखिन्छ । विश्वमा यो अनुपात २.५ प्रतिशत रहेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाउँछ ।
कारण के हो ?
सबैभन्दा सीधा उत्तर त देशको जनसङ्ख्याको संरचनाले दिन सक्छ । कोभिड–१९ ले धेरै उमेरका मानिसहरूमा धेरै गम्भीर असर र मृत्यु निम्त्याएको संसारभरि देखिएको छ । त्यसैले नेपालजस्तो अत्यधिक युवा जनसङ्ख्या भएका देशमा यसको मृत्युदर कम हुने ठानिन्छ ।
नेपालमा केही समयअगाडि अधिकारीहरूले कोभिड–१९ बाट ज्यान गुमाउनेमध्ये आधाजति ६० वर्षभन्दा माथिको उमेरको भएको जनाएका थिए । नेपालमा ६० वर्षभन्दा माथि उमेर भएका मानिस कुल जनसङ्ख्याको केवल ८.६ प्रतिशत मात्र छन् । यसबाट पनि यहाँ कम मृत्युदर हुने प्रक्षेपण गर्न सकिने विज्ञहरू बताउँछन् ।
‘दुईवटा मुख्य कारण हुनसक्छ । एउटा जनसाख्यिक वितरण र अर्को सामाजिक संरचना ।
पश्चिमा देशहरूमा निकै धेरै मृत्यु वृद्धवृद्धालाई राखिने नर्सिङ होमहरूमा भएको पाइएको छ । यहाँ त अलि उल्टो के छ भने वृद्धवृद्धाहरू धेरै गाउँघरमै बस्छन् अनि त्यहाँ सङ्क्रमण कम छ, ‘जनस्वास्थ्य अनुसन्धाता डा. किरण पाण्डेले बताए । अनि ग्रामीण वस्तीमा कोभिडका कारण नै कसैले ज्यान गुमाए पनि त्यो जानकारीमा नआउने भएको हुनसक्ने उनले औँल्याए । स्वास्थ्य मन्त्रालयका अवैतनिक सल्लाहकार डा. सुरेश तिवारीले अहिले प्रस्तुत गर्ने गरिएको मृत्युदरमा मात्र भर पर्नुभन्दा थप अध्ययन हुनुपर्ने बताए ।
अध्ययन हुन आवश्यक
अर्का जनस्वास्थ्यविद् डा. सुशीलनाथ प्याकुरेलले नेपालमा कोभिडबाट कम मृत्युदरको विषयमा थप अध्ययन हुन बाँकी रहेको तर जनस्वास्थ्यको सन्दर्भबाट केही अनुमान भने गर्न सकिने बताए । ‘एउटा जनस्वास्थ्यको जानकारको हैसियतले मैले चारवटा अनुमान गरेको छु । यद्यपि यी अनुमानलाई अध्ययनबाट पुष्टि गर्न बाँकी नै छ,’ उनले भने ।
उनले अगाडि सारेको चारवटा अनुमानमा एक बीसीजी खोपको व्यापक प्रयोगले उत्पन्न गरेको हुनसक्ने प्रतिरोधी क्षमता हो । ‘पश्चिमा देशहरूको तुलनामा यहाँ क्षयरोगविरुद्धको बीसीजी खोप व्यापक लगाइन्छ र यसले पनि केही सुरक्षा प्रदान गरेको हुनसक्ने कतिपय विज्ञले उल्लेख गरिरहेका छन् ।
दोस्रो कारणमा केही भारतीय वैज्ञानिकहरूले भनेको जस्तै अन्य रोगसँग लडेको प्रतिरोध अनुभवले कोभिडसँग लड्न सघाउ पुगेको हुनसक्ने र तेस्रो कारण यो क्षेत्रको विशिष्ट खानपान हुनसक्ने उनले बताए ।
चौथो कारण चाहिँ हाम्रो सांस्कृतिक रहनसहन हुनसक्छ । ‘उदाहरणका निम्ति हामीमाझ अँगालो हाल्ने वा हात मिलाउने भन्दा नमस्ते गरेरै अभिवादन गर्ने जस्ता प्रचलन छन् जसले सङ्क्रमण फैलिन पनि रोक्न मद्दत गर्छ,’ उनले बताए । सबैजसो विज्ञहरूको सहमति के मा रहेको छ भने मृत्युदरबारे यकिन आँकडा पहिले थाहा हुनुप¥यो अनि त्यसपछि कारणहरूबारे पनि वैज्ञानिक तवरले अध्ययन अनुसन्धान हुनुप¥यो । त्यति नहुन्जेल अगाडि सारिने तर्कहरू केवल अनुमानमा मात्र सीमित रहने उनीहरूको भनाइ छ ।