धरानः धरानस्थित बीपी प्रतिष्ठानका सहप्रवक्ताले पनि राजीनामा दिएका छन् । सहप्रवक्ता रहेका डा. आशिष श्रेष्ठले पनि राजीनामा दिएका छन् । यसअघि प्रवक्ता डा. निदेश सापकोटाले राजीनामा दिएका थिए । प्रवक्ता नहुँदा सहप्रवक्ताले काम गर्दै आएका थिए ।
उनको राजीनामा पत्र प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले स्वीकृतसमेत गरेका छन् । सहप्रवक्ता डा. श्रेष्ठले व्यक्तिगत व्यस्तताको कारण राजीनामा दिएको बताएका छन् । ‘म सहप्रवक्ता नियुक्त भएर काम गरेको करिब ६ महिना भयो । यस दौरानमा प्रतिष्ठानका पदाधिकारी लगायत सबैबाट पूर्ण सहयोग मिलेको छ,’ उनले भने, ’यो कार्यभार सम्हालिरहँदा मेरो व्यक्तित्व विकासमा समेत टेवा पुगेको छ । चिकित्सक पेशा भन्दा विल्कुलै फरक जिम्मेवारी सम्हाल्दा धेरै सिक्ने मौका मिलेको छ ।’
डा. श्रेष्ठले प्रतिष्ठानमा २०११ देखि ओरल प्याथोलोजी विभागको प्रमुखको रूपमा कार्यभार सम्हालेका छन् । उनी २००२ मा विधार्थीका रूपमा प्रतिष्ठान आएका थिए । बिडिएस सकेपछि फ्याकल्टी डिभेलपमेन्ट प्रोगाम अन्तर्गत प्रतिष्ठानको सहयोगमा उनले भारतको मणिपाल युनिर्भसिटीबाट ३ वर्षे एमडिएस सकाएका हुन् । रिक्त रहेको सहप्रवक्ताको पदमा एनेटोमी विभागका सहप्राध्यापक डा. चुडामणी पोखरेललाई नियुक्त गरिने रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए ।
