धरानः गोर्खाहरुले गौरवपूर्ण इतिहास स्थापित गरेको बेलायती सेनाको एक उच्च पदमा नेपाली युवतीले प्रवेश पाएकी छिन् ।
बेलायती सेनामा कुनै पनि नेपाली युवतीले हासिल गरेको सम्भवतः यो नै अहिलेसम्मको उच्च दर्जा हो । भूतपूर्व गोर्खा सैनिक बाबुकी छोरी २७ वर्षीया दन्त चिकित्सक (डेन्टिस्ट) अंशु बेलायती सेनाको क्याप्टेन पदमा भर्ती भएकी हुन् ।
उनी पोखराकी हुन् । उनी ६ गोर्खा राईफलका ‘कलर सार्जन’ अमर गुरुङ र भुम्दिकोट समाज यूके आमा समूहकी अध्यक्ष सुकु गुरुङकी कान्छी छोरी हुन् । गुरुङ परिवार बेलायतमा फार्नबरोमा बस्दै आएका छन् ।
शनिबार मात्रै तालिम पूरा गरेकी उनले क्याप्टेन पदको फुली लगाएकी हुन् । गत वर्ष बेलायतको क्वीन म्यारी युनिभर्सिटीबाट दन्त चिकित्सक (डेन्टिस्ट)को अध्ययन पूरा गरेपछि अंशु बेलायती सेना प्रवेश गरेकी थिइन् । भूतपूर्व गोर्खा सत्याग्रह संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राईले ढिला भएपनि गोर्खालीको नाम थप उच्च भएको प्रतिक्रिया दिएका छन् । बेलायती सेनामा नेपाली युवाहरु भर्ती हुन लागेको दुई सय वर्षभन्दा लामो समय भइसक्यो । गोर्खा रेजिमेन्टमा नेपालबाट युवतीहरु समेत भर्ना गर्ने बेलायतको योजना रहेपनि अहिलेसम्म कार्यान्वयन भइसकेको छैन । पछिल्ला केही वर्षमा बेलायतबाटै फाट्टफुट्ट रुपमा केही नेपाली किशोरीहरु बेलायती सेनामा भर्ती हुने गरेकोमा क्याप्टेन जस्तो उच्च पदमा अंशुको प्रवेशले थप नेपाली युवतीहरुलाई बेलायती सेनातर्फ आकर्षित गर्ने आशा गर्न सकिन्छ ।
