धरानः नेपालमा ८० प्रतिशतभन्दा बढी असुरक्षित यौन सम्पर्कबाट एचआइभी संक्रमण सरेको अध्ययनले देखाएको छ ।
३३ औं विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसारनेपालमा हाल १७ हजार ५ सय ८७ पुरुष र ११ हजार ९ सय १६ महिला गरी २९ हजार ५ सय ३ जना एचआइभी संक्रमित रहेको केन्द्रको अनुमान छ ।
यस्तै, नेपालमा हालसम्म ३० जना एचआइभी संक्रमित कोरोना भाइरसबाट संक्रमित भएको पाइएको छ । संक्रमित सबै जना हाल उपचारपछि निको भइसकेका छन् । कोरोना महामारीका कारण उनीहरुको उपचार सेवामा कुनै प्रभाव नपरेको केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले बताइन् । नियमित औषधि सेवन नगर्ने र लुकेर रहेका एचआइभी संक्रमितहरु मात्र कोरोना संक्रमणको उच्च जोखिममा रहेको उनले बताइन् ।
सावधानी अपनाउन आवश्यक रहे पनि नियमित औषधि सेवन गर्ने र निरन्तर चिकित्सकको परामर्शमा रहने एचआइभी संक्रमित कोरोनाबाट डराइहाल्नु नपर्ने उनको भनाइ छ ।
सुईद्वारा लागू पदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिंगी यौनकर्मीहरुमा एचआइभी संक्रमणको दर समूहभन्दा उच्च रहेको केन्द्रले जनाएको छ । २०७७ सालको असार मसान्तको तथ्यांक अनुसार नेपालको कुल एचआइभी संक्रमितमध्ये १९ हजार ४ सय १० अर्थात् ६६ प्रतिशत मात्र एआरभी उपचारमा छन् ।
सन् २०१० को तुलनामा सन् २०१९ सम्ममा नेपालमा नयाँ संक्रमण ६४ प्रतिशतले घटेको छ। सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने सरकारको लक्ष्य छ । ८० वटा एआरटी केन्द्रबाट निशुल्क औषधि वितरण भइरहेको केन्द्रले जनाएको छ ।
यस वर्ष एड्स तथा यौन रोग नियन्त्रणका लागि ५६ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन भएको केन्द्रले जनाएको छ । जसमध्ये औषधि र औषधिजन्य सामग्रीका लागि मात्र ८५ प्रतिशत बजेट खर्च हुने गरेको छ । एचआइभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी भन्ने नारा सहित मंगलबार विश्व एड्स दिवस मनाइँदैछ । नेपालमा एचआइभी नियन्त्रणका कार्यक्रम सुरु भएको तीन दशक नाघिसकेको छ ।