धरानः अमेरिकामा नयाँ नेतृत्वले जिम्मेवारी सम्हाल्ने बित्तिकै नागरिकलाई विशेष राहत दिने तयारी थालिएको छ ।
आगामी जनवरी २० तारिखमा पदभार सम्हाल्न लागेका अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको पहिलो १०० दिनमा १० करोड नागरिकलाई कोरोना खोप लगाउने योजना अगाडि सारेका छन् ।
पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्रीको नाम सार्वजनिक गर्दै उनले आफ्नो कार्यकालको १०० दिन भित्रै कोभिड–१९ अन्त्य नभए पनि महामारीको चपेटामा परेका नागरिकलाई भरोसा दिलाउने बताएका छन् । यसअघि नै उनले नियमित रुपमा मास्क लगाउन र कम्तीमा पनि १०० दिनसम्म त्यसलाई जीवन व्यवहारमा लागू गर्न आग्रह गरिसकेका छन् ।
यस्तै अमेरिकाको सरकारी निकायले फाइजरको खोप ९५ प्रतिशतसम्म सुरक्षित रहेको विवरण सार्वजनिक गरेको छ । उसले भनेको छ फाइजरको खोप ९५ प्रतिशत सुरक्षित रहेको छ । उत्तः खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिने तयारी गरिएको छ । बाइडेनले स्वास्थ्यमन्त्रीको रुपमा क्यालिफोर्नियाका महान्यायाधिवक्ता जेभियर बेकेरा तथा रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) को प्रमुखमा रोचेल वालेन्स्कीलाई चयन गरेका छन् ।
अमेरिकाका शीर्ष सङ्क्रामक रोग विज्ञ डा एन्थोनी फाउचीले क्रिसमसपछि कोभिडका घटनाहरूको अर्को लहरको चेतावनी दिएको विवरण केही दिन पहिले नै सार्वजनिक भएको छ । उनले केही दिन भित्रै शुरु हुन लागेको लामो क्रिसमस र नयाँ वर्षको छुट्टिको समय थप चुनौति बन्न सक्ने चेतावनी दिएका छन् ।
अमेरिकामा सङ्क्रमण एउटा उच्च विन्दु पछ्याउँदै औसतमा दैनिक २ लाख पुग्ने क्रममा अगाडि बढेको छ । अस्पताल कोरोनाभाइरसका बिरामीले भरिन थालेपछि अमेरिकाका दुई ठूला राज्यहरू क्यालिफोर्निया र न्यूयोर्कले खराब जनस्वास्थ्य संकटको समेत चोतवनी दिइएको छ । अहिलेसम्म अमेरिकामा १ करोड ५० लाखभन्दा बढी कोरोना संक्रमित देखिएका छन् । यस्तै ३ लाखको हाराहारीमा ज्यान गएको छ ।