धरानः नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले धरानमा सिटी जुलुस निकालेको छ ।
भोलि सोमबार (२९ गते) सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शनको पूर्व सन्ध्यामा धरानमा सिटी फुक्ने कार्यक्रम राखिएको नेविसंघले जनाएको छ ।
नेविसंघको अगुवाईमा धरानमा तरुण दलको पनि सहभागितामा सिटी जुलुस निकालिएको तरुण दलका नगर सभापति हिमाल श्रेष्ठले जानकारी दिए । विरोध कार्यक्रमको अघिल्लोदिन प्रचारात्मक सिठ्ठी जुलुस निकालिएको उनले जानकारी दिए ।
धरानको छाताचोकबाट निस्किएको जुलुस भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसमा सरकारविरुद्धका विभिन्न नारा लेखिएका प्लेकार्ड बोकिएका थिए । कोणसभामा कार्यक्रममा धरानका विभिन्न क्याम्पसका सभापतिहरुले बोलेका थिए ।
‘ओली नेतृत्वको सरकारले देखाएको अकर्मण्यता, कोरोना संक्रमित जनताको जीवनरक्षामा देखाएको उदासिनता, कोरोनाको नाममा भएको भ्रष्टाचार र कमिशनखोरी, सरकारी दमन, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामाथि भएको सरकारको गुण्डागर्दी तथा सरकारको सर्वसत्तावाद उन्मुख गतिविधि विरुद्ध प्रदर्शन भएको हो’, उनले भने, ‘केन्द्रीय निर्देशनअनुसार भोलि विशेष विरोध प्रदर्शनको कार्यक्रम छ ।’ अधिकांश बोल्ने वक्ताले सरकारका कारण संघीय लोकतान्त्रिक गणतन्त्र समेत संकटमा परेकोसमेत बताएका थिए ।
तस्वीरः हाम्रो कोशी आवाज







