धरानः कोरोना भाइरसविरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान ‘कोभ्याक्स’ सुविधामार्फत् नेपालमा पनि जनसंख्याको २० प्रतिशत अर्थात् करिब ६० लाख नेपालीलाई पुग्ने गरी खोप उपलब्ध हुने गैरआवासीय नेपाली संघले जनाएको छ ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोभ्याक्स सुविधामार्फत् न्यून आय आएका नेपाल जस्ता मुलुकमा खोपको सहज वितरण गरिने भएकाले नेपालमा पनि ६० लाख मानिसका लागि कोरोनाविरुद्धको खोप उपलब्ध हुनेछ । यद्यपी यसका लागि सबैभन्दा पहिले खोपको सफलता नै आवश्यक भएको समितिका संयोजक डा. सञ्जिव सापकोटाले जानकारी दिए ।
यसैबीच ७२ प्रतिशत नेपालीलाई कोरोना खोप लगाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
विश्वमा परीक्षण तथा अनुसन्धानको क्रममा रहेका खोपहरूमध्ये दुई करोड १६ लाख नेपालीलाई खोप दिइने मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । तीन करोड नेपालीमध्ये २८ प्रतिशत १४ वर्ष मुनीका बालबालिकालाई खोप दिइने छैन । अहिले विकास क्रममा रहेका सबै खोप १४ वर्ष मुनीका बालबालिकामा परीक्षण नभएको भन्दै ८४ लाख बालबालिकालाई खोप नदिइने उनको भनाइ छ । खोपका लागि नेपालले आवश्यक पहल गरिरहेको उनको भनाइ छ ।