सुनसरीः सरकारको अकर्मन्यताविरूद्ध नेपाली कांग्रेसले सुनसरीको इनरुवामा प्रदर्शन गरेको छ ।
आफ्नो गृहजिल्ला तनहुँमा गत मंसिर १७ गते पुल उद्घाटन गर्न पुग्दा प्रहरी प्रशासनले रोक लगाएर वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरी हिरासतमा समेत लिएपछि आक्रोशित बनेको कांग्रेसले सोमबार सरकारविरुद्ध देशैभरी प्रदर्शन गरेको हो ।
सुनसरी सदरमुकाममा भेला भएका सयौं कार्यकर्ताले विरोध प्रदर्शनमा सहभागिता जनाएका थिए । जिल्लाका विभिन्न स्थानबाट पुगेका कांग्रेस कार्यकर्ता पार्टी कार्यालयमा भेला भई इनरुवा नगरपालिकाका विभिन्न ठाउँमा रयाली र महेन्द्रचोकमा कोणसभा आयोजना गरेको थियो ।
कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता महेश आचार्य, पूर्व मन्त्री तथा सांसद ज्ञानेन्द्रबहादुर कार्कीलगायतले बोलेका थिए ।
ओली नेतृत्वको नेकपा सरकार भ्रष्टाचारमा लिप्त रहेको, कोरोना महामारी नियन्त्रण गर्न नसकेको, प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, जनताको स्वास्थ्य सुरक्षामाथि खेलबाड गरेको आरोप पनि कांग्रेसले लगाइरहेको छ ।
पछिल्लो समय राजावादीहरूले देशका विभिन्न शहरमा प्रदर्शन गरेपछि झस्किएको कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नारा लगाउन विभिन्न नारा पनि तय गरेको छ । नारामा ‘चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा, औषधि छैन मल छैन, सत्ताको लडाइँ, लाज छैन, बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार’ जस्ता विषय समेटिएका छन् ।
तस्वीरः इनरुवा अनलाइन


