सुनसरीः तपाईं हामीले कुदाउँदै गरेको मोटरसाइकलमा अचानक आफै आगलागी होला भन्ने कुरा कल्पना पनि गरिएको हुँदैन । तर कहिलेकाही भइदिन्छ त्यस्तै । हामीले सोच्दै सोच्दै नसोचेको घटना हुन पुग्छ । त्यस्तै घटना भएको छ- सुनसरीको इनरुवामा ।
सुनसरीको इनरुवामा मोटरसाइकलमा अचानक आगलागी हुँदा एक गम्भीर घाइते बनेका छन् भने मोटरसाइकल पूर्णरुपमा क्षतिग्रस्त बनेको छ ।
१ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार हिँड्दै गरेको मोटरसाइकलमा आगलागी भएको हो । आगलागीमा एक गम्भीर घाइते समेत बनेका छन् भने आगलागीबाट मोटरसाइकल जलेर पूर्णरुपमा क्षति भएको छ ।
आगलागी हुँदा मोटरसाइकल चालक रामधुनी–२ बस्ने वर्ष २८ को एञ्जिल न्यौपाने गम्भीर घाइते बनेका छन् । उनको एपेक्स अस्पताल इटहरीमा उपचार भइरहेको छ ।
इनरुवा नगरपालिका ६ स्थित पूर्व–पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको प्र३–०२–००६प४०५६ नं. को मोटरसाइकलमा अचानक के कारणले आगलागी भएको हो अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनास्थल ट्राफिक प्रहरी कार्यालय इनरुवाबाट तीन किलोमिटर पूर्वमा पर्छ ।
यस्तै, सुनसरीमै तीब्र गतिमा कुदेका मोटरसाइकल जुध्दा एकजना गम्भीर घाइते बनेका छन् ।
इटहरी–१ स्थित कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको को२८प २४११ नं. को मोटरसाइकल र विपरीत दिशामा जाँदै गरेको को२८प ६२५९ नं. को मोटरसाइकल जुध्दा ६२५९ को चालक तत्काल वतन नखुलेको वर्ष ३५ को वीरेन्द्र गुरागाई गम्भीर घाइते बनेका छन् ।
यस्तै, सुनसरीमै एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते बनेका छन् । बराहक्षेत्र नगरपालिका ९ भित्री कच्ची सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को१झ ४८७ नं को एम्बुलेन्सले विपरीत दिशाबाट आउँदै गरेको को१९प ४९५१ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक वर्ष ४० को सुन्दर खड्का दाहिने खुट्टामा चोट लागेको छ भने पछाडि सवार वर्ष ३५ को पशुपति खड्का टाउकोमा चोट लागेको छ । दुवैको उपचार धरानस्थित बीपी प्रतिष्ठानमा भइरहेको छ । एम्बुलेन्स चालक बराहक्षेत्र–९ राजाबास बस्ने वर्ष २९ को डम्बर राई प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यस्तै, बेलबारी–११ लक्ष्मीमार्गमा को२ च ५२६ नं. को टाटा पिकअप गाडीले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री वर्ष ६३ कि चरिमाया राई घाइते बनेकी छिन् ।
यस्तै, झापामा ट्रक र मोसा आपसमा ठक्कर खाँदा एक गम्भीर घाइते बनेका छन् । बुद्धशान्ति–७ मोतिडाँडास्थित उत्तर दक्षिण मेची राजमार्गमा दक्षिणबाट उत्तरतर्फ जादै गरेको लु१ख ३४२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको मे११प ५५५ नम्बरको मोटरसाइकल एक आपसमा जुधेको प्रहरीले जनाएको छ । दुर्घटनामा बुद्धशान्ति–२ बस्ने वर्ष ४८ को कल्याण बोहोरा गम्भीर बनेको र बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक चालक जिल्ला ताप्लेजुङ साब्लाखु–६ बस्ने वर्ष ३० को मिङमा दोर्जे तामाङ प्रहरी नियन्त्रणमा छन् ।