धरानः नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कम्युनिष्टप्रति नेपाली जनतामा वितृष्णा पैदा भइसकेको बताएका छन् ।
कांग्रेसले धरानमा आयोजना गरेको बृहत रक्तदान तथा खेलाडीलाई सम्मान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘कम्युनिष्टको क्रियाकलापले अहिले नेपाली जनता आजित र दिक्क बनिसकेका छन्’, उनले भने, ‘त्यही भएर अब कांग्रेसबाहेकको विकल्प छैन, कहिले चुनाव आउँछ र कांग्रेसलाई भोट हालौं भनेर पर्खिरहेका छन् ।’
उनले कम्युनिष्टहरुलाई परिस्थितिले साथ नदिएको बताए । नेता बस्नेतले कम्युनिष्टको सरकार कमाउनिष्ट भएको आरोप लगाए । उनले जताततै भ्रष्टाचारले जरो गाडेको बताउँदै महामारीबेला औषधि खरिद गर्दासमेत मन्त्रीहरुले भ्रष्टाचार गरेका आरोप लगाए । ‘झुक्याएर र अनेकौं नारा दिएर दुई तिहाइनजिक पुगे तरपनि केही काम हुन सकेको छैन, भनौं अहिले परिस्थितिले पनि कम्युनिष्टलाई साथ दिएको छैन,’ उनले भने, ‘देशमा भ्रष्टाचार बढिरहेको छ, कम्युनिष्ट सरकार कमाउनिष्टतर्फ उन्मुख भइरहेको छ, महामारीको बेलासमेत भ्रष्टाचार गरिरहने सरकार सरकार र कम्युनिष्टहरुलाई अब परिस्थितिले साथ दिँदैन ।’

सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको उनको भनाइ थियो । उनले सरकारका गतिविधीहरु निरंकुश तथा कम्युनिष्ट अधिनायकवादतर्फ उद्यत हुँदै गएको बताए । उनले कम्युनिष्ट सरकार तानाशाही भएको आरोप लगाए । ‘सरकार सर्वसत्तावादको बाटोमा गएको, बढ्दै गएको भ्रष्टाचार र कोरोना नियन्त्रण गर्न सरकार असफल रहेको छ’, उनले थपे, ‘यसो गरिरहे कांग्रेसको दिन नआए कस्को आउँछ ?’
पार्टीलाई आन्तरिकरुपमा मजबुद बनाउनुपर्नेमा जोड दिँदै उनले आन्तरिक कलह नभए नेपाली कांग्रेस अहिले पनि बलियो रहेको र जहिल्यै बलियो रहने बताए । उनले अन्तरकलह साम्य पार्न सके आगामी निर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत ल्याउने निश्चित भएको भन्दै नेताहरु गुट उपगुट र आन्तरिक झगडाबाट टाढा रहन सुझाए ।
उनले सरकार संघीयताको पक्षमा नरहेको उनको समेत बताए ।
प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको बताए । सरकार भ्रष्टाचारको दलदलमा फँसेको उनको भनाइ थियो । उनले पनि सरकार संघीयताको पक्षमा नरहेको उनको कथन थियो । ‘भए गरेका सम्पूर्ण काम ४० अर्ब ८९ करोडको बजेट अहिलेसम्म कुनै कार्यान्वयन हुन सकेको छैन, बजेट कटौती हुँदैछ, जनताको भावनामाथि खेलवाड भइरहेको हुनाले पनि सरकार संघीयताको पक्षमा रहेको छैन भन्न सकिन्छ ।’ उनले भने । कांग्रेस जनताको पार्टी भएकोले अब कांग्रेसबाहेकको विकल्प नरहेको उनको जोड थियो । तस्वीरः लक्ष्मण थापा