तेह्रथुमः तेह्रथुमको म्याङलुङ नगरपालिका–८ कोबेकमा अंशबण्डाको विषयमा वादविवाद र झैझगडा भई कुटपिट समेत हुँदा एकजनाको मृत्यु भएको छ ।
झगडामा गणेश लिम्बूको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।
हत्याको आरोपमा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय कुमार लिम्बू रहेका छन् । शुक्रबार राति कुमारको बुबा ५५ वर्षीय गणेश लिम्बू र काका कीर्तिमान लिम्बूबीच अंशबण्डाको विषयमा झगडा भइरहेको अवस्थामा कुमार लिम्बूले छुट्याउने क्रममा दुवैजनालाई बाँसको भाटाले हिर्काउँदा निजको बुबा गणेशको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली खटी गई घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल तेह्रथुम पठाएको तथा कुमार लिम्बूलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।