Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘धरान शहर’ सार्वजनिक (भिडिओ)

हाम्रो कोशी आवाज
पुष ७ २०७७, मंगलबार
‘धरान शहर’ सार्वजनिक (भिडिओ)

धरानः धराने गायक ज्ञान सुब्बाको आवाज रहेको ‘धरान शहर’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक गरिएको छ ।
धरानको गोर्खा डिपार्टमेन्टको हलमा आयोजित भब्य कार्यक्रमका बीच सो भिडियो सार्वजनिक भएको हो । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाको उपप्रमुख मञ्जु भण्डारीले एलइडी स्क्रीनको प्ले बटन थिचेर ‘धरान शहर’ सार्वजनिक गरेकी थिइन् । सोही समयमा नै गायक ज्ञान सुब्बाको युट्यूब च्यानलमार्फत् पनि सो गीत सार्वजनिक गरिएको थियो ।
गीतको शब्दअनुरुप धरान तथा यस क्षेत्र वरपरका बराहक्षेत्र, विजयपुर, भेडेटारसम्मका विभिन्न पर्यटकीय क्षेत्रहरु कैद गरिएको सो गीतमा शब्द हर्क चुम्मे र संगीत जीवन भट्टराईको रहेको छ । भावना स्टुडियो धरानमा रेकर्ड गरिएको गीतमा कुमार थापाको संगीत संयोजन रहेको छ ।
सिल्भर इन्टरटेनमेन्टको निर्माणमा थैली इन्टरटेनमेन्टको भुपेन्द्र तुम्वाहाम्फेको छायाङ्कन र निर्देशनमा तयार भएको सो म्युजिक भिडियोमा नायिका रेखा लिम्बू, विनोद बस्नेत, बादल श्रेष्ठ, जोयना लिम्बू, विपना श्रेष्ठ, निशान लिम्बू र किरण श्रेष्ठको अभिनय रहेको छ भने सम्पादन अनिल रानाको रहेको छ ।
धरान सरोकार समाजका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठ, वरिष्ठ लोक गायक गंगा बरदान, वरिष्ठ कलाकार प्रेम सुब्बा, धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ धरान उपमहानगरपालिकाको पर्यटन समिति सहसंयोजक किशोर थुलुङलगायतको आतिथ्य रहेको कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ, वरिष्ठ गायक तथा संगीतकार दिनेश सुब्बा, धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठले भिडियो मार्फत शुभकामना सुन्देश दिएका थिए ।
गायक ज्ञान सुब्बाका अन्य दुई वटा ओ ब्यस्त जीवन र हिउँदोको घाम गीत समेत देखाइएको थियो । भर्खरै मात्र नेपाल जेसिज २०२१ को राष्ट्रिय उपाध्यक्ष पदमा सर्वाधिक मत ल्याई विजयी भएका धरान जेसिज २०२० का अध्यक्ष दीपेन्द्र निरौलालाई प्रमुख अतिथि उपप्रमुख मञ्जु भण्डारी र सिल्भर इन्टरटेनमेन्टको प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले खादा र सम्मानपत्र दिएर सम्मानित गरिएको थियो ।
कार्यक्रममा बोल्दै संगीतकार जीवन भट्टराईले धरानको पर्यटनमा टेवा पुगोस् भन्ने अभिप्रायले यो गीत र भिडियो तयार गरेको बताए । ‘हाम्रो मिहिनेतले यसले केही हदसम्म धरान चिनाउने प्रयास गरिएको छ’, उनले भने । प्रमुख अतिथि उपप्रमुख मञ्जु भण्डारीले धरान पूर्वको पर्यटनको हबको रुपमा रहेको र यो गीत तयार गरेर धरानलाई दिएको उपहारको लागी सम्पूर्ण टिममा धन्यवाद व्यक्त गर्दै कलाकारहरुले आफ्नो ठाउँको लागि यसरी नै अघि बढ्नुपर्ने बताइन् ।

प्रकाशित मिति: पुष ७ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend