धरानः धरानस्थित भानुचोकमा लिम्बुवान संघीय लोकतान्त्रिक लिम्बुवान मञ्च र संघीय लिम्बुवान मञ्चले संयुक्तरुपमा टायर बालेर प्रदर्शन गरेको छ ।
मञ्चले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध टायर बालेर आन्दोलन गरेको जनाएको छ । मञ्चले कोणसभा पनि आयोजना गरेको छ । धरान नगर अध्यक्ष सञ्जुहाङ साँवाले संघीय गणतन्त्र एवं लोकतान्त्रिक मूल्य र मान्यताको विधानलाई कुल्चिएर ३ करोड बढी नेपाली जनताको भावनामा ठेस पुरयाउँदै कुठाराघात गरेको बताए ।
मनोमानी ढङ्गले गरिएको निर्णयविरुद्ध सडक संघर्ष जारी रहने उनीहरुको भनाइ छ । ‘मनोमानी ढङ्गले गरिएको निर्णयको हामी विरोध गर्दछौं’, संघीय सिल्मी मञ्चका केन्द्रीय अध्यक्ष रमेश गजमेरले भने, ‘अब हामी सडकमै रहनेछौं ।’
कोणसभामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय सचिव भुपेन्द्रसुन्दर लावती, संघीय लिम्बुवान महिला विभागकी नेतृ सरस्वती लिम्बू, संघीय लोकतान्त्रिक लिम्बुवान मञ्चका केन्द्रीय सदस्य कुमार लिम्बू, संघीय लिम्बुवान विद्यार्थी मञ्चका प्रतिनिधि डिल्ली लिम्बू, संघीय लोकतान्त्रिक मञ्चका जिल्ला सचिव निर्मल राईलगायतले बोलेका थिए । तस्वीरहरुः लक्ष्मण थापा




