सुनसरीः सुनसरीको कोशी गाउँपालिका–३ का ८० वर्षीय गंगाई दासलाई कुटपिट गरी हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
बुधबार बिहान राति अवैध कपडा ओसारपसार गर्ने क्रममा स्थानीय ५५ वर्षीय उदिचन्द मुखिया र ६० वर्षीय कृपा मल्लाहले कुटपिट गरेको र सोही कारणले दासको घटनास्थलमा नै मृत्यु भएको भन्ने जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले दासलाई मृत अवस्थामा फेला पारेको थियो ।
घटना सम्बन्धमा अनुसन्धान गर्ने क्रममा मुखिया र मल्लाहको संग्लग्नता रहेको भन्ने जानकारी पाएसँगै दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।
यसैबीच सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीबाट अवैध पेस्तोलसहित दुईजनालाई प्रहरी पक्राउ गरेको छ ।
सो स्थानमा हातहतियारको बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ वर्षीय मो.मुक्तार मियाँ र २७ वर्षीय सद्दाम मियाँलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले कटुवा पेस्तोल २ थान, सोही पेस्तोलमा प्रयोग हुने ५ राउण्ड गोली, हतियार ओसार पसारमा निजहरुले प्रयोग गरेको २ थान मोटरसाइकल र २ थान मोबाइल समेत बरामद गरेको छ ।
हातहतियारसहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको तथा मुलुकी अपराध (संहिता) ऐन २०७४ को हात हतियार खरखजना सम्वन्धी कसुरमा कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।