Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

छुट्टाछुट्टै घटनामा चारको मृत्यु

हाम्रो कोशी आवाज
पुष ९ २०७७, बिहिबार
छुट्टाछुट्टै घटनामा चारको मृत्यु

विराटनगरः प्रदेश १ का सुनसरी, झापा, पाँचथर र ओखलढुङ्गामा भएको छुट्टाछुट्टै घटनामा चारजनाको मृत्यु भएको छ ।
बुधबार साँझ साढे ६ बजेको समयमा सुनसरीको देवानगञ्ज–२ रामटोलमा को२ह ४९२१ नम्बरको अटो टेम्पोले ठक्कर दिँदा घाइते भएका स्थानीय ९० वर्षीय बेचुदास मेहेतालाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।
ठक्कर दिने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय देवानगञ्जले नियन्त्रणमा लिएको छ ।
यसैगरी झापाको बिर्तामोड नगरपालिका–५ पूर्व पश्चिम लोकमार्गमा बा२१च ५९३६ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिँदा स्थानीय २८ वर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको छ ।
बुधबार राति पौने ९ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सो नम्बरको कारले ठक्कर दिँदा घाइते भएका चौधरीको झापाको बिएण्डसी अस्पतालमा उपचारको क्रममा ९ बजे मृत्यु भएको तथा ठक्कर दिने कार र चालक समेतलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।
यस्तै, मोरङको विराटनगर महानगरपालिका–१४ महत्तो टोलका ४० वर्षीय धजनलाल महत्तोको करेन्ट लागेर मृत्यु भएको छ ।
आफ्नै घर अगाडि रहेको कदमको रुखको हाँगा झार्ने क्रममा रुखको हाँगाले विद्युतको मेन तारमा छुन गई करेन्ट लाग्दा रुखबाट झरेर घाइते भएका महत्तोलाई उपचारको लागि कोशी अस्पताल पठाईएकोमा उपचारको क्रममा बेलुका सवा ८ बजे मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उता ओखलढुङगाको मानेभन्ज्याङ गाउँपालिका–६ सोक्माटारमा बा३३प ३०८७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बुधबार राति साढे ७ बजेको समयमा मध्यपहाडी लोकमार्ग हुँदै काठमाण्डौबाट खोटाङतर्फ जाँदै गरेको सो नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका रामेछापको मन्थली गाउँपालिका–९ का २८ वर्षीय टेकबहादुर नेपालीलाई उपचारको लागि जनसेवा हेल्थ केयर घुर्मी लगिएकोमा उपचारको क्रममा राति सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
बञ्चरो प्रहार गरी श्रीमतीको हत्या
पाँचथरको हिलिहाङ गाउँपालिका–५ लुम्फाबुङमा श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
बिहीबार बिहान राति १ बजेको समयमा ३२ वर्षीय धनबहादुर उभरकोटीले बञ्चरो प्रहार गरी आफ्नै श्रीमती ३० वर्षीया दुर्गा उभरकोटीको हत्या गरेको भन्ने जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटी गई अनुसन्धान तथा घटनामा संग्लग्न रहेका मृतकका श्रीमानको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रकाशित मिति: पुष ९ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend