धरानः धरान अहिले क्रिसमसमय भएको छ । केहीदिन भयो, धरानमा सपिङ महल, गिफ्ट हाउस, रेस्टुराँ अनि होटलहरू क्रिसमसमय भएका छन् । गिफ्ट पसल, सपिङ महललगायतमा क्रिसमसका सामग्रीले सजिएका छन् ।
इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्ट जन्मिएको दिनलाई भव्यताका साथ मनाउँछन् । डिसेम्बर २५ तारिखको साँझ ‘क्रिसमस इभ’ को रमझममा हुन्छ । रमाइलो गर्न तम्सने अन्य धर्मावलम्वीका युवायुवती, वृद्धवृद्धाहरूका लागि क्रिसमस इभ एउटा रमाइलो बहाना बन्ने गरेको छ । भनौं क्रिसमसमा क्रिस्चियन धर्मावलम्वीहरू मात्र नभएर गैर क्रिस्चियनहरू पनि रम्न थालेका छन् ।
केहीवर्ष भयो, नेपालमा पनि क्रिसमस इभ मनाउने चलन बढेको छ । धरानलगायत नेपालका प्रमुख शहरहरूमा क्रिसमसका विभिन्न कार्यक्रम आयोजित भइरहेका हुन्छन् । डिसेम्बर २५ तारिखमा पर्ने इसाई धर्मावलम्बीहरूको प्रमुख चाड क्रिसमसलाई सेलिब्रेसन गर्न अघिल्लो दिनको साँझ ‘क्रिसमस इभ’ मनाउने चलन छ । त्यसका लागि हप्ता दिनअघिदेखि सहरका बिजनेस सेन्टर, पसलहरूमा क्रिसमस ट्री सजाएर राख्ने गरिन्छ । धरानमा पनि त्यस्तै देखियो ।
बराह ज्वेलरी इ.प्रा.लि., गोरखा डिपार्टमेन्ट, भाटभटेनीदेखि धरानका गिफ्ट हाउसमा अहिले क्रिसमसका सामग्री सजाएर राखिएको छ । प्रवेशद्वार होस् वा पसलमा ठूला–ठूला क्रिसमस ट्री, सान्ता क्लज ठड्याइएका छन् । सपिङ सेन्टरमा कार्यरत कर्मचारीहरूसमेत क्रिसमसमा लगाइने शान्ता क्लज टोपीमा भेटिन्छन् । होटलदेखि सामान्य लजहरू तथा सपिङ सेन्टर एवं मलहरू क्रिसमस ट्रि र शान्ता क्लजले झकिझकाउ छ ।
जब डिसेम्बर महिना प्रारम्भ हुन्छ, तब क्रिसमसको चर्चा भै नै हाल्छ । क्रिसमस भन्नेबित्तिकै धेरैको मनमा ‘क्रिसमस ट्री’, ‘शान्ता क्लज’, विभिन्न उपहार, चर्च तथा येशुको नाममा गरिने प्रार्थनाको सम्झना आउँछ । सपिङ मल, होटल, रेस्टुराँदेखि चर्चसम्म इसाई धर्मावलम्बीका साथै गैरक्रिस्चियनहरूको चहलपहल पनि बाक्लिन थालेको छ, कार्यक्रम हुन थालेको छ । सपिङ महल, गिफ्ट हाउसमारहेको ट्रीको वरपर झुम्मिएर तस्बिर खिच्ने वा सेल्फी लिने युवा–युवती तथा बालबालिकाहरू पनि निकै बढेका छन् । क्रिसमसको रातोटोपी लगाएर हिँड्ने युवायुवतीको लर्को यतिबेला धरानको चोकचोकमा देखिन्छ ।
क्रिसमसमा त्यहाँ नाचगान हुन्छ, उपहार आदान–प्रदान गरिन्छ अनि नयाँ आगन्तुकहरूलाई स्वागत गरिन्छ भने येशुका बारेमा जानकारी समेत दिइने धरानस्थित सियोन मेथोडिष्ट चर्चका पाष्टर खड्गबहादुर थापा मगर बताउँछन् ।
नेपालमा झन्डै ४ सय वर्षअघिदेखि क्रिसमस मनाउन थालिएको इतिहास छ । यस्तै, स्कुले विद्यार्थीलाई पनि क्रिसमसले छोएको छ । अहिले स्कुलका विद्यार्थी क्रिसमस मनाउन साथै यसबारे जान्न खोजिरहेको पाइन्छ । अहिले स्कुलले पनि क्रिसमसबारे जानकारी दिने गरेको छ ।
तस्वीरहरुः लक्ष्मण थापा




