धरानः आजकै दिन अर्थात् पुस १५ गते धान्यपूर्णिमा, योःमरी पूर्णिमा, उधौली र ल्होसार पर्व मनाइँदैछ । मंसिर शुक्ल पूर्णिमाका दिन धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने चलन छ ।
कतिपय समुदायले भने आजै कूल परम्पराअनुसार दिवाली वा कूलदेवताको पूजा आराधना गरी धान्यपूर्णिमा पर्व मनाउँछन् ।
नयाँ धान भित्रयाएको खुशीयालीमा नेवार समुदायले आज योःमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदैछन् । योःमरी पूर्णिमालाई योःमरी पुन्ही पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ ।
यसैगरी मंसिर शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली साकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि सुरु भएको पर्वको पहिलो दिन लिम्बुहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किराँत पर्व मनाउछन् ।
गुरुङ समुदायले आज ल्होसार मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउने गरिन्छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन् । यस चाडले इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसरसमेत प्रदान गर्ने भएकाले यसबाट पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुग्ने देखिने जनाउँदै उहाँले यस्ता चाडपर्वबाट नेपालका विविध भूगोल, संस्कृति, जातजाति र भाषाभाषीका जनताबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भएर बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास गरिएको उहाँले व्यक्त गरेकी छिन् ।