विराटनगरः खोटाङ र मोरङका दुई छुट्टाछुट्टै स्थानमा आज बिहान भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
खोटाङको रावाबेशी गाउँपालिका-१ डुम्रेपानीमा आज बिहान साँढे ३ बजे को ७ त ४७२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सह-चालक स्थानीय २६ बर्षीय राजन नेपालीको मृत्यु भएको हो । पार्किङ गरेर राखेको ट्याक्टरलाई सह-चालकले चलाएर लैजाने क्रममा सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका सह-चालकलाई स्थानीय मेडिलकमा उपचार गरी थप उपचारको लागी सुबिधा सम्पन्न अस्पतालमा लैजाने क्रममा आज बिहान साँढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
यसैगरी मोरङको कटहरी गाउँपालिका ३ मा तेलको ट्याङकरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान सवा ९ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १-०२-०४२ प ९५५९ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट जाँदै गरेको ना ५ ख ८४३४ नम्बरको तेल बोक्ने ट्याङकरले पछाडीबाट ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २१ बर्षीय रोहित साहलाई उपचारको लागी कोशी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक कबिन्द्रकुमार कार्कीले जानकारी दिए ।