धरानः धरानमा गुरूङ (तमु) जातिले धुमधामसाथ नयाँ वर्ष तमु ल्होसार मनाएका छन् ।
यसैबीच बुधबार आयोजित कार्यक्रममा तमु राजा घोषणा गरियो । बुधबार नै घैला फुटाउने प्रतियोगिता आयोजना गरिएको थियो । सो अनिष तमु गुरुङलाई नयाँ तमु राजा घोषणा गरिएको हो । करिब २५ जना घैला फुटाउने कार्यक्रममा सहभागी भएका उनले मात्रै घैला फुटाए । उनी धरान–१३ निवासी हुन् । उनी सत्य साई स्कुलमा अध्ययनरत् छन् । घैला फुटाउन सफल भएपछि उनलाई धरान क्षेत्रका नयाँ तमु राजा घोषणा गरिएको हो ।
उनलाई सम्मान गरिनुका साथै नगद एक हजार, ६ तोलाको चाँदीको तक्मा (मेडल) पनि दिइएको थियो । अर्को वर्ष पुनः अर्को नयाँ राजा चयन गरिन्छ । उनी राजा चयन भएपछि अधिकांशले खादाले स्वागत गरेका थिए । ‘उनलाई अब एक वर्षका लागि तमु राजा भनेर बोलाइने अर्थात् सम्बोधन गरिन्छ’, नेपाल बौद्ध गुम्बा पूर्वाञ्चलका अध्यक्ष पृथ्वीमान तमुले भने । उनलाई गुम्बामा हुने विविध कार्यक्रममा राजाको रुपमा बोलाएर आसन ग्रहणसहितको कार्यक्रम गरिँदै आएको उनले जानकारी दिए ।
धरानमा यसरी नै वर्षेनी तमु राजा चयन हुने गरेको गुम्बाका सचिव यम तमुले जानकारी दिए । ‘गुरुङको परम्परा जोगाउन यस्तो कार्य गर्दै आएका छौं’, उनले भने ।
जिल्ला कोषाध्यक्ष टंककुमारी गुरुङका अनुसार पहिला पहिला तमुहरुको राज्यमा जो वीर छ उसैलाई राजा घोषणा गरिने गरिन्थ्यो । ‘त्यसको लागि दौडिने, छेलो हान्ने, घैलो फुटाउने प्रतियोगिता भइरहन्थ्यो । जसले जित्छ उही राजा हुन्थ्यो, त्यसैको निरन्तरता हो यो ।’ उनले भनिन् ।
हरेक पुस १५ गते (भोलि) मनाइने यो परम्परागत चाडका अवसरमा बुधबार विविध सांस्कृतिकलगायतका कार्यक्रम पनि भए । यस वर्ष मुसा (च्यु ल्हो) लाई विदा गरेर गाई (च्वो ल्हो) लाई स्वागत गरिने तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् धरान नगर समितिका अध्यक्ष पृथ्वीमानले जानकारी दिए ।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् धरान नगर समितिले धरान–१८ स्थित नेपाल बौद्ध गुम्बा पूर्वाञ्चलमा भेला भई कार्यक्रम आयोजना भएको हो । नेपाल बौद्ध गुम्बा पूर्वाञ्चलका अध्यक्ष पृथ्वीमानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सहमहासचिव डम्बर तमु गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भुपु वरिष्ठ केन्द्रीय सदस्य भद्रमान तमु, तमु छोंज धीं की केन्द्रीय सल्लाहकार नन्दकुमार तमुलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव यम तमुले गरेका थिए । कार्यक्रमको अधिकांश वक्ताले चाडमा सार्वजनिक विदा नदिइएको भन्दै दुखेसो पोखेका थिए ।
यसअघि अघिल्लो दिन गुम्बा सजावट तथा सरसफाइ, पूजाआजालगायतको कार्यक्रम गरिएको थियो भने लामाहरुबाट पूजापाठ, आफ्नै मौलिक परम्पराअनुसार विभिन्न सांस्कृतिक कार्यक्रम, गाजाबाजा तथा पट्का पट्काई हर्षोल्लासका साथ स्वागतका साथ पर्व भित्रयाउने कार्यक्रम गरिएको थियो । यस्तै, १५ गते ग्रह शान्तिपाठ, पूजापाठ, प्रसाद ग्रहण तथा तमु ल्होसारको उद्घाटन कार्यक्रम, शुभकामना आदानप्रदान तथा विभिन्न सांस्कृतिक तथा तमु राजा घोषणा कार्यक्रम थियो ।
जिल्ला कोषाध्यक्ष टंककुमारीले जिल्लास्तरमा ल्होसारको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको बताइन् । ‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशिर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ । प्रत्येक १२ नयाँ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेलका प्रतीकका रुपमा लिइन्छ । यो पर्व चीनमा विकास भएर तिब्बत हुँदै नेपाल आइपुगेको संस्कृतविद्हरु बताउँछन् । राम्रो लगाउने र मीठो खाने यो सांस्कृतिक पर्व नेपाललगायत चीन, सिङ्गापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापानलगायतका देशमा मनाइन्छ ।
फैलिएका गुरूङहरू बढ्दो भूमण्डलीकरणका कारण संसारभर छरिएर रहेका छन् नै आफू जहाँ रहेपनि आफ्नो भाषा, संस्कार संस्कृतिलाई माया गर्ने गुरुङ समुदायले पुस १५ गतेलाई तमु ल्होसारका रूपमा संसारभर धुमधामले मनाउँछन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज





















