Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कांग्रेसको मेलमिलाप दिवस

हाम्रो कोशी आवाज
पुष १६ २०७७, बिहिबार
धरानमा कांग्रेसको मेलमिलाप दिवस

धरानः प्रदेशसभा नेका क्षेत्रीय कार्य समिति क र ख ले राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ ।
४५ औं दिवसका अवसरमा स्व. बीपी कोइरालाको मेलमिलाप नीतिको स्मरण गर्दै विचार गोष्ठी राखिएको थियो । दुवै कार्यक्रमका प्रमुख अतिथिद्वय नेपाली कांग्रेसकी पूर्व केन्द्रीय सदस्य एवं विघटित प्रतिनिधिसभा सदस्य मीना सुब्बा र पूर्व जिल्ला सभापति गिरिराज आचार्यले थिए ।
कार्यक्रममा बोल्दै उनीहरुले महामानव बीपी कोइरालाले राष्ट्रियता र प्रजातन्त्र सङ्कटको रक्षा गर्न आफ्नो निजी स्वार्थलाई त्यागेर पार्टीदेखि माथि उठेर २०३३ साल पुस १६ मा प्रवासबाट नेपाल फर्किँदा तत्कालीन राजासँग र अन्य प्रजातन्त्रप्रेमी नेतृत्वहरुसँग गरिएको मेलमिलाप नीति वास्तवमा अहिले पनि समय सान्दर्भिक भएको धारणा राखे ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताले कम्युनिष्ट सरकारले पदको लोभ देखाएर कांग्रेससँग सम्झौता गर्न सक्ने र केन्द्रीय नेता बढी सजग हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य सुब्बाले अहिलेको दुई तिहाइ नेकपा नेतृत्वको प्रधानमन्त्री केपी शर्मा ओली सरकारले राष्ट्रको हितविपरीत गरेको संसद विघटन गरेको र त्यो असंवैधानिक रहेको बताइन् । उनले सरकार टिकाउनकै लागि भएपनि अहिलेको सरकारले सत्ताको प्रलोभन देखाउने र कांग्रेस लिप्त हुन नहुने बताइन् । ‘उनीहरुले सरकार टिकाउनका लागि नेपाली कांग्रेसलाई अनेकन प्रलोभन देखाएर विभिन्न सम्झौता गर्न खोज्छन्, त्यसमा कांग्रेसका केन्द्रीय तहका जिम्मेवार नेताहरु सजग हुनुपर्छ ।’ उनले भनिन् ।
मेलमिलाप गोष्ठीमा विशेष अतिथि एवं प्रमुख वक्ता कांग्रेसका पूर्व नगर सभापति प्राचार्य आनन्दप्रसाद आचार्यले बीपीको महान विचारहरुलाई उजागर गर्दै बीपीको मेलमिलापको नीतिलाई राष्ट्रहितको निमित्त सदाबहार रहने र आजको नेताहरुले अङ्गीकार गरेर नजाने हो भने नेपाली कांग्रेस पार्टी मात्र होइन राष्ट्र र लोकतन्त्रनै खतरामा पर्ने बताए । कांग्रेसका पूर्व महासमिति सदस्य गिरिराज आचार्यले बीपीको सिद्धान्त र नीतिमा हिँडे मात्रै देशले फड्को मार्ने बताए ।
दुवै गोष्ठी कार्यक्रममा वक्ताहरूमा जिल्ला सचिव सुजेन्द्र तामाङ गोले, जिल्ला सदस्य किशोर राई, महासमिति सदस्य उमेश थापा, महाधिवेशन प्रतिनिधि नन्दराज राई, जिल्ला सदस्य माधव घिसिङ, राजपाल लामा, गोविन्द बस्नेत, पूर्व प्रदेश प्रमुख गोविन्द सुब्बा, पूर्व क्षेत्रीय अध्यक्ष विनोद राई, धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, बेलायत जनसम्पर्क समितिका अध्यक्ष युवराज गुरुङ, नेपाल तरुण दलका उपाध्यक्ष नरसिंह राई, नेविसंघका दोर्ची शेर्पा, क्षेत्रीय सदस्य कोपिला भट्टराई, महिला नेतृ सपना राई र नेका नगर सचिव युवराज शंकर रहेका थिए ।
विचार गोष्ठीमा क्षेत्रीय समिति क ले धरानको अमान बजारमा धनबहादुर कटवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न् गरेको थियो भने क्षेत्रीय कार्यसमिति ख ले धरान–१८ स्थित विमल स्मृति पुस्तकालयको सभाहलमा सम्पन्न गरेको थियो । त्यहाँ मुरारी भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन नेका क्षेत्रीय क का सचिव महेन्द्र प्रधान र तरुण दल नगर सचिव मनोहर श्रेष्ठले गरेका थिए । तस्वीरः लक्ष्मण थापा

प्रकाशित मिति: पुष १६ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend