बिर्तामोडः झापाको हल्दीवारी गाउँपालिका–५ बस्ने ७२ वर्षीया हरिमाया बेगाको खोलाले बगाएर मृत्यु भएको छ ।
आइतबार राति साढे ८ बजेको समयमा स्थानीय भुतेनी खोला तर्ने क्रममा अचानक खोलाले बगाएर दहमा मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै प्रहरी चौकी जलथलबाट प्रहरी टोली खटी गई घटनास्थल सुरक्षित राखेको तथा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटी गई अनुसन्धान कार्य भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर सूचना समन्वय अधिकृतरप्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।
यस्तै, झापाको दमक नगरपालिका–६ बेलडाँगीबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय दमकबाट गस्तीमा खटिएको प्रहरी टोलीले आइतबार राति १० बजे शंकास्पद अवस्थामा हिँडिरहेका दमक नगरपालिका–८ का २१ वर्षीय विक्रम लम्जेल र रतुवामाई नगरपालिका–८ का २२ वर्षीय रोशनकुमार मग्रातीलाई चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ३९० मिलिग्राम लागूऔषध ब्राउनसुगर र नगद २ हजार ४०० बरामद भएको थियो । लागूऔषधसहित पक्राउ परेका निजहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।